सुचना, समाचार र मनोरन्जन

आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ,

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । बाँकीको जवाफ आउने क्रममा रहेको उनले बताए । उनका अनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए । नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने समेत उनले बताए ।

उनले भने, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टीकरण सोधिएको छ । अहिले बढेर २३ पुगेको भन्ने छ । यो बढ्ने क्रमम जारी रहन्छ, अहिलेलाई २१ भनेँ । २१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ । अरुको जवाफ आउने क्रममा छ । आयोगले कानुन बमोजिम कारबाही गर्नेछौँ।’

उनले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

मिथ्या सूचना प्रशारण गर्नेलाई कारबाही गर्न सिफारिस

निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सूचना प्रसारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतका निकायहरुले मिथ्या सूचना प्रवाह गर्नेहरुको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार हानिकारक सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको उनले जानकारी दिए । उनले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.