सुचना, समाचार र मनोरन्जन

एआई शत्रु होइन साथी, विवेकशील पत्रकारिताको नयाँ सारथि

परिचय/ सुरेश रानाभाट

प्राकृतिक छटा र ऐतिहासिक गौरव बोकेको लमजुङको सदरमुकाम बेसीशहर केवल मर्स्याङ्दीको सुसेलीमा मात्रै झुमेको छैन, यहाँको पत्रकारिताको न्युजरुममा एउटा नयाँ र शक्तिशाली बहसले प्रवेश पाएको छ। त्यो बहस हो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकता।

गत चैत्र ६ र ७ गते बेसीशहरको बजारमा लमजुङका तीनै पुस्ताका पत्रकारहरू एउटै थलोमा भेला भए । अवसर थियो नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सञ्चालित पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय क्षमता अभिवृद्धि तालिम। डिजिटल युगको यो महादौडमा मोफसलको पत्रकारितालाई कसरी अपडेट र अपग्रेड गर्ने भन्ने चिन्तनले बेसीशहरको हल तताएको थियो। एआईले पत्रकार विस्थापन कि विस्तार: तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले एउटा सूत्रवाक्य फ्याँकिन् एआई प्रविधि हो, यसलाई शत्रु होइन, साथी बनाऊँ ।उनले पत्रकारिताको बदलिँदो आयतन र परिदृश्यलाई चिरफार गर्दै थपिन्, एआईले पत्रकारलाई विस्थापित गर्दैन, तर एआई प्रयोग गर्न जान्ने पत्रकारले एआई नजान्ने पत्रकारलाई पक्कै विस्थापित गर्नेछ ।

रजिष्ट्रार भण्डारीको यो भनाइले हलमा उपस्थित ३५ जना पत्रकारहरूलाई गम्भीर बनायो । उनले एआईलाई कोपाइलटको संज्ञा दिँदै भनिन्, एआईसँग दिमाग होला, तर पत्रकारिताको मुटु र नैतिकता हामी मानव पत्रकारसँग मात्र हुन्छ । यसले समाचारको खाका कोरिदेला, भाषा अनुवाद गरिदेला, तर दोर्दी वा क्व्होलासोथारका दूरदराजका नागरिकको आँसु र पसिनामा संवेदना भर्न सक्दैन । त्यसैले यसलाई सहयोगी बनाऔँ, तर समाचार कक्षलाई पूर्ण रूपमा अटोपाइलट मा नछोडौँ । सुकेनास लागेका सञ्चारगृह र नीतिगत उपचार: तालिममा एउटा नमीठो सत्य पनि सतहमा आयो लमजुङमा दर्ता भएका ३३ वटा मिडियामध्ये २२ वटा बन्द भइसकेका छन् । शुभकामना मन्तव्यका क्रममा सहभागी वक्ताहरूले मिडिया हाउसलाई सुकेनासले छोएको भन्दै चिन्ता व्यक्त गरे । आर्थिक संकट, विज्ञापनको अभाव र प्रविधिको चुनौतीले थलिएका सञ्चारगृहलाई जोगाउनु अबको मुख्य चुनौती हो ।

यही सन्दर्भलाई जोड्दै प्रेस रजिष्ट्रार भण्डारीले एउटा साहसिक प्रस्ताव अघि सारिन् मिडिया हाउसहरू अब मर्जर एकीकरणमा जानुपर्छ । धेरै संख्यामा कमजोर मिडिया खोल्नुभन्दा थोरै तर बलिया मिडिया हाउस चलाउनु आजको आवश्यकता हो । उनले प्रेस रजिष्ट्रारको कार्यालयले चालेका नयाँ कदमहरूको फेहरिस्त पनि राखिन् । सञ्चार उद्यममा महिलालाई प्रोत्साहन गर्न महिला सञ्चार उद्यमी स्टार्टअप कार्यक्रम, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मिडियालाई अनुदान र पत्रकार कल्याण कोषको स्थापना जस्ता कुराले सञ्चारकर्मीहरूमा आशाको सञ्चार गरायो । सबैभन्दा महत्त्वपूर्ण कुरा, रेडियो र टेलिभिजनका फाइलहरू अब काठमाडौँ धाउनु नपर्ने गरी गण्डकी प्रदेशमै ल्याइएको र अनलाइन दर्ता एवं नवीकरणलाई पनि प्रदेशबाटै गर्ने गरी पहल भइरहेको जानकारी उनले दिइन् । लोककल्याणकारी विज्ञापनको भुक्तानीमा सहजीकरण गर्ने प्रतिबद्धताले पनि मोफसलका पत्रकारलाई राहतको अनुभूति गरायो । मैदानको अनुभव र एआईको शिल्प: दुई दिनसम्म चलेको तालिमलाई सञ्चारविज्ञ जीवन भण्डारीले सहजीकरण गरेका थिए ।

मुलुकका ४० भन्दा बढी जिल्लामा एआईको तालिम दिइसकेका भण्डारीले केवल सैद्धान्तिक कुरा मात्र गरेनन्, पत्रकारहरूलाई हातहातमा मोबाइल र ल्यापटप चलाउन लगाएर समाचार संकलन, सम्पादन र फोटो भिडियो निर्माणमा एआईका टुल्सहरू कसरी प्रयोग गर्ने भन्ने प्रयोगात्मक सीप सिकाए । तालिम लिनुअघि र लिएपछि पत्रकारको कार्यशैलीमा फरक आउनुपर्छ,भण्डारीले भने।उनले समाचारको शुद्धता, तथ्य जाँच र एआईले दिन सक्ने भ्रामक सूचनाबाट जोगिने उपायहरू पनि सिकाए । तालिममा सहभागी पत्रकारहरूले एआईको प्रयोगबाट घण्टौँ लाग्ने काम मिनेटमै फत्ते गर्न सकिने सीप सिक्दा आफूहरू डिजिटल युगमा प्रवेश गरेको महसुस गरे । पुस्तान्तरको संगम र महिलाको नेतृत्व: नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा एउटा सुखद दृश्य देखियो हलमा अग्रज, मध्य र अनुज गरी तिनै पुस्ताका पत्रकारहरूको सक्रिय सहभागिता थियो ।

अध्यक्ष पौडेलका अनुसार सहभागी ३५ जनामध्ये आधाभन्दा बढी महिला पत्रकार थिए । यसले लमजुङको पत्रकारितामा महिलाहरूको बढ्दो रुचि र प्रविधिप्रतिको आकर्षणलाई पुष्टि गर्दछ । महासंघकी उपाध्यक्ष बसन्त भट्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नवीन कुईकेल र महासंघका केन्द्रीय सदस्य कृष्ण के.सी.ले शुभकामना दिँदै प्रविधिसँगै एकाकार हुनुको विकल्प नरहेको बताए । उनीहरूले सामाजिक सञ्जालले दिने अपुष्ट सूचना र व्यावसायिक पत्रकारिताबीचको खाडललाई प्रविधि र नैतिकताले मात्र पुर्न सकिने धारणा राखे । प्रविधिमा अब्बल, नैतिकतामा अडिग: बेसीशहर७ मा सम्पन्न दुई दिने तालिमले लमजुङको पत्रकारितालाई नयाँ दिशा दिएको छ ।

प्रविधि आफैँमा साध्य होइन, यो त साधन मात्र हो भन्ने बुझाइ पत्रकारहरूमा विकास भएको छ । प्रेस रजिष्ट्रारको कार्यालयले केवल नियमन मात्र होइन, अभिभावकीय भूमिका निर्वाह गर्दै सञ्चारकर्मीको क्षमता विकासमा गरेको लगानीले लोकतन्त्रको जगलाई थप मजबुत बनाएको छ । लमजुङका पत्रकारहरू अब आफ्नो न्युजरुममा फर्किँदा केवल कलम र डायरी मात्र बोकेर होइन, एआई जस्तो आधुनिक अस्त्रलाई आफ्नो वशमा राख्ने शिल्प बोकेर फर्किएका छन् । प्रेस रजिष्ट्रार बिमला भण्डारीले भनेझैँ, अबको पत्रकारिता प्रविधिमा अब्बल, नैतिकतामा अडिग र सत्यको पक्षमा निडर हुनुपर्नेछ। डिजिटल युगको यो नयाँ गोरेटोमा लमजुङको पत्रकारिताले चालेको यो कदम पक्कै पनि गौरवपूर्ण र अनुकरणी हुनेछ।

Leave A Reply

Your email address will not be published.