सुचना, समाचार र मनोरन्जन

कूटनीतिक नियोगका प्रमुखहरुसंगको सामुहिक कूटनीतिक भेटको सन्देश

नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु लाई सामुहिक शिष्टचार भेट गरेर प्रधानमन्त्रीले सकारात्मक अभ्यास गर्नुभएको छ। यो समय बचत र सन्देशका हिसाबले सकारात्मक छ। संगै सो भेटका क्रममा उहाँले व्यक्त गरेको विचार सन्तुलित छ र आगामी दिनमा केही सन्देश, सहकार्य र भेटका लागि परराष्ट्रमार्फत आउन भन्नुभएको सामुहिक रुपमै भन्नुभएको छ। यो अभ्यास र अठोट संधै कायम रहोस्। भोलि आवश्यकताअनुसार छुट्टाछुट्टै भेट पनि गर्नुपर्ने हुन्छ, त्यसमा कूटनीतिक मर्यादाको पालना गर्नुहुनेछ भन्ने विश्वास छ।
सामान्यतया विगतमा पनि शिष्टचार भेटका लागि अनुरोध परराष्ट्रमार्फत आउने र भेट हुने गर्दथ्यो। तर, केही राजदूत र नेताले त्यो मर्यादा बिर्सेर सिधा सम्पर्क गर्ने र परराष्ट्रको प्रतिनिधि नराखी भेट्ने गलत अभ्यास गरेका थिए। अब, त्यो रोकिनुपर्छ।
साथै, अहिलेको सरकारका मन्त्रीहरुले पनि राजदूतहरुसँग भेटघाट गरिरहनुभएको छ। त्यो पनि परराष्ट्रमार्फत र त्यहाँको प्रतिनिधि राखेरै भइरहेको छ भन्ने विश्वास छ।
त्यसैगरी कतिपय सरकारका प्रशंसकहरु भन्दै हुनुहुन्छ, `देख्यौं बालेन सरकारलाई भेट्न विदेशी राजदूत हरु लाइन लागेर आए। पहिलेका नेताहरू उनीहरुलाई भेट्न लाइन लाग्थें। यो बुझाइ र विचार अत्यन्त गलत छ। राजदूत मर्यादाको हिसाबले तल्लो पद होला तर उनीहरू अर्को देशका प्रतिनिधिहरु हुन् र प्राय: हाम्रो देशको विकास र सहयोगका साझेदार हुन्। उनीहरू प्रधानमन्त्रीलाई भेट्न लाइन लागेका होइनन्, प्रधानमन्त्रीको निमन्त्रणामा आयोजित सामुहिक शिष्टचार भेटमा सरिक भएका हुन्। उनीहरूले भेटमा आफ्नो देशको तर्फबाट बधाई सन्देश दिए। बैठकपछि फोटो खिच्ने कार्यक्रम भयो र त्यो पनि प्रधानमन्त्री कार्यालयले राखेकै कार्यक्रम हो। यो स्वभाविक र सकारात्मक छ। तर, राजदूतहरुलाई लाइन लगाउन बाध्य पारे भनेर नकारात्मक म्यासेज पनि नदिनुस् कि यो असल अभ्यास नै प्रतिकुल बनोस्।
भेटका क्रममा प्रधानमन्त्रीद्वारा व्यक्त विचार:
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’
प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए।
उनले थप भने, ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ। यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु। यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’
प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए।
यस्तै, उनले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको समेत उल्लेख गरे।
‘नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन। हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री शाहले भने।
उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए।
यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उनले जोड दिए।
Leave A Reply

Your email address will not be published.