सुचना, समाचार र मनोरन्जन

नेपाली सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ कान्स सिनेमा महोत्सवमा छनोट

काठमाडौं :

विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट भएको छ।यससँगै नेपाली फिल्मले पनि अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको छ।

अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्सको सहकार्यमा निर्माण भएको हो। यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य छ। फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायका एक परिवारको कथा प्रस्तुत गरेको छ।

ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको कथामा नयाँ अनुहारका कलाकारसहित गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा,महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।  अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन्। मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका फिल्मकर्मीले समेत निर्माणमा साथ दिएका छन्।

निर्देशक शाहले यसअघि आफ्नो लघु सिनेमा ‘लोरी’बाट कान्समा पुरस्कार जित्दै नेपाली फिल्म क्षेत्रमै पहिचान बनाइसकेका छन्। ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता चर्चित सिनेमाका पटकथाकार रहेका शाहको यो पहिलो निर्देशकिय डेव्यु फिचर सिनेमा हो। यो सिनेमाको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनको छ। ध्वनि, संगीत, कला निर्देशन र अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको निर्माण पक्षले जनाएको छ।

यसवर्षको कान्स मे १२ देखि सुरु हुनेछ । उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित सन् १९२० को परिवेशमा आधारित कमेडी सिनेमा ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिने कार्यक्रम छ । महोत्सवको निर्णायक मण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित सिनेमामेकर पार्क चान–वूकले गर्नेछन्। यस वर्ष बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ पाल्मे डओरबाट सम्मान गरिने घोषणा गरिएको छ।

नेपाली फिल्मको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म बनेको बताइएको छ। निर्माण टिमले यस उपलब्धिलाई नेपाली फिल्म क्षेत्र र दर्शकसँग साझा गर्दै आगामी दिनमा अझै सशक्त नेपाली कथाहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.