काठमाडौं :
फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शनमा आउने तयारीमा छन्। यो फिल्म हलमा लाग्ने समय नजिकिदै गर्दा निर्माण टिम प्रचारप्रसारमा तिव्र पारेका छन्। फिल्म ‘लालीबजार’मा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स लगायत चर्चामा छन्।
हालै यस फिल्मको अन्य गीत ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’लाई पनि दर्शकले रुचाइरहेका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्मले वादी समुदायले भोग्नु परेको समस्याका बारेमा पर्दामा बोल्ने छ। जहाँ हजुरआमा,आमा र छोरीको कथामा बुनिएको फिल्म हो।
षट्कोण आट्र्सले निर्माण गरेको यो फिल्ममा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई रहेका छन्। साथै यस फिल्मको कलाकारमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदी लगायत छन्। यसै फिल्मबाट विशालले अभिनेताका रुपमा डेव्यु गरेका हुन्।
उनी भन्छन,‘म थियटरमा काम गरिरहेको थिएँ । एउटा नाटक हेर्न आएपछि मलाई नोटिस गर्नुभएको रहेछ । षट्कोण आट्र्सले फिल्म बनाउने र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले दंग थिएँ । किनकि स्वस्तिमाले आफूलाई ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत अभिनयमा प्रमाणित गरिसक्नुभएको छ भने उहाँको कमर्सियल भ्यालूका बारेमा मैले केही भन्न पर्दैन।’
उनले यो फिल्मबाट आफुले सिक्ने अवसर पाएको बताए। विशाल आफुले अभिनय गरेको यो फिल्मबाट दर्शकले आफु मात्र सिमित नराखी परिवार तथा समाजसम्म नै सन्देश फैलाउने बताउँछन्।
उनी थप्छन्,‘‘लालीबजार’मा उहाँ (स्वस्तिमा खड्का)को जोडीका रुपमा काम गर्न पाउँदा मैले सिक्ने अवसर पनि पाएँ । हामी सबै कलाकारले षट्कोण आट्र्सका बारेमा जे सुनेका थियौँ, त्यो पायौं । यस्ता फिल्महरू हल भित्र नै सकिदैनन्, घर, परिवार र गाउँ समाजमा पुग्छन्, छलफल हुन्छन् भन्ने मलाई लागेको छ।’
त्यसैगरि यस फिल्मकी प्रशंसा सुवेदीले पनि फिल्ममा काम गर्नका लागि अवसर खोजिरहेको रहेको समयमा यस फिल्मको अडिसन खुलेको थाहा पाएपछि अडिसनमार्फत छानिएको सुनाईन्।
उनले आफ्ना अनुभव सुनाउँदै भनिन्,‘म अभिनय गर्ने तयारी गरिरहेकी थिएँ। केही ठाउँमा अडिसन पनि दिएकी थिएँ तर सहकार्य जुरेको थिएन। त्यसकारण पनि नेपाली फिल्मको खबर बारे म जानकार नै हुन्थेँ। एकदिन मलाई रवीन्द्र अंकल (रवीन्द्रसिंह बानियाँ)ले फिल्ममा काम गर्न ‘इन्ट्रेस्टेड’ हो भने आएर अडिसन देउ भन्नुभयो।’
उनले आफुले गरेको यस फिल्मको पात्रका लागि अडिसन दिएको र पास भएर काम गरेको सुनाईन्। उनी भन्छिन्,‘पहिलो फिल्ममा नै र स्वस्तिमा दिदी (स्वस्तिमा खड्का) सँग काम गर्न पाउँदा निकै खुसी छु।’ यसअघि निर्माण टिमले फिल्म ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।