पोखरा,
पर्यटकीय नगरी पोखरामा आयोजित लिटल मिस्टर एण्ड मिस पोखरा सिजन–२ को उपाधि सञ्जोग सुवेदी र श्रेन्सा गौतमले जितेका छन्। फाइनल प्रतिस्पर्धामा अन्य सहभागीलाई पछि पार्दै सञ्जोगले लिटल मिस्टर पोखरा तथा श्रेन्साले लिटल मिस पोखरा को ताज पहिरिएका हुन्।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने प्रतिभाहरूको नतिजा समेत घोषणा गरिएको थियो। गर्ल्सतर्फ फर्स्ट रनरअप निमिषा सुवेदी र आरध्या बराल बने भने ब्वाइजतर्फ रितिश न्यौपाने फर्स्ट रनरअप भए।
यस्तै, गर्ल्सतर्फ सेकेन्ड रनरअप सान्बी गुरुङ र सान्सा थापा तथा ब्वाइजतर्फ कियान थापा घोषित भए। भ्युअर्स च्वाइस अवार्ड गर्ल्सतर्फ समृद्धि क्षेत्री र प्राजना गुरुङ तथा ब्वाइजतर्फ अवनीश कुमार श्रेष्ठले प्राप्त गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र मालती मङ्गले को टिम सहभागी भएको थियो। चलचित्रको प्रचार–प्रसारका क्रममा रहेका अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, गायक रामकृष्ण ढकाल र हास्य कलाकार मेक्सम गौडेललगायत कलाकारको उपस्थितिले कार्यक्रमलाई थप रौनकता दिएको थियो।
कलाकारहरूले बालबालिकाहरूमा लुकेका प्रतिभाको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए। कार्यक्रममा गायक रामकृष्ण ढकालले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा हल गुञ्जायमान बनेको थियो भने विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो।
हेभन्ली इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सफल सुवेदीले सिजन–२ को सफलता पछि आगामी दिनमा अझै परिष्कृत र भव्य कार्यक्रम आयोजना गर्ने तथा पोखराका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।