काठमाडौं :
अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ आमा २’को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्ममा पहिलो भागका केही कलाकारहरू दोहोरिएका छन्। अघिल्लो फिल्मका कलाकारहरू विपना थापा, पल शाह, प्रदीप रावत र गजित बिष्टले पुनः अभिनय गर्ने भएका छन्।
यसपटक फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत र गजित बिष्टसँगै आकाश श्रेष्ठ र नरेन खड्का पनि जोडिएका छन्। भने अभिनेत्रीहरूको छनोट प्रक्रिया अझै बाँकी रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार केही दिनभित्रै सम्पूर्ण कलाकार छनोट गरिसकिनेछ।
निर्देशक पन्तले छायांकन तालिका पनि छिट्टै टुंगो लाग्ने बताए। हाल फिल्मका लागि कलाकार तथा प्राविधिक टोली छनोटको काम भइरहेको छ। निर्माण टिमले यसअघि नै फिल्मलाई आगामी दसैंमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको थियो, र निर्देशक पन्तले पनि सोही समयमा रिलिज गर्ने लक्ष्य दोहोर्याएका छन्।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ। फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहेका छन्।