रौतहट : रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरे क्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार व्यवस्थित वनको एक हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षारोपण क्षेत्रको २०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ।
यसैबीच डिभिजन वन कार्यालयअन्तर्गत सञ्चालित दिगो वन व्यवस्थापन कार्यक्रम र विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट आर्थिक वर्ष २०८२/८३ मा करिब ५४ हजार क्युफिट काठ उत्पादन भएको छ। दिगो वन व्यवस्थापन लागू भएका तीन सामुदायिक वन उपभोक्ता समूह, एउटा साझेदारी वन उपभोक्ता समिति र विभिन्न सामुदायिक वनको वन क्षेत्रबाट उक्त परिमाणको काठ उत्पादन भएको हो।
यसै वर्षदेखि चन्द्रपुर नगरपालिका–४ र ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर-३ मा रहेको तिलेश्वरनाथ र भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएको कार्यालय प्रमुख साहले जानकारी दिए।
प्रमुख साहका अनुसार रौतहटमा दिगो वन व्यवस्थापन लागू भएको हातेमालो सामुदायिक वन उपभोक्ता समूहले आठ हजार ८६४ क्युफिट र १५ चट्टा दाउरा, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूहबाट १० हजार २५ क्युफिट काठ र २६ चट्टा दाउरा, तिलेश्वारनाथ सामुदायिक उपभोक्ता समूहबाट सात हजार ५०६ क्युफिट काठ र १४ चट्टा दाउरा र रङ्गपुर साझेदारी वनबाट १७ हजार ३२७ क्युफिट काठ र २९ चट्टा दाउरासहित उत्पादन भएको छ।
उक्त तीन सामुदायिक वन र एउटा साझेदारी वनबाट यस वर्ष मात्रै ४३ हजार ७२२ क्युफिट काठ र ८४ चट्टा दाउरा उत्पादन भएको छ। रौतहटको ४३ सामुदायिक वनमध्ये यस वर्ष तीन सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएको तथा आउँदो आर्थिक वर्षमा जन चाहना सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुर र जनएकता सामुदायिक वन उपभोक्ता समूह चन्द्रनिगाहपुरमा लागू हुने प्रमुख साहले जानकारी दिए।
वृक्षारोपण कार्यक्रमलाई व्यापक बनाउन ८० हजार जडीबुटीका बिरुवा, एक लाख ६० हजार ८०१ एक वर्षी र दुई लाख बहु वर्षीय बिरुवा उत्पादन भइरहेको उनले जानकारी दिए। वन पैदावार आपूर्ति समितिमार्फत यस आवभित्र एक हजार ४२६ क्युफिट काठ बिक्री गरेको प्रमुख साहले बताए। काठ अभाव नभएको र पर्याप्त मात्रामा काठ भएका कारण आपूर्ति समितिमार्फत मागेको बखत काठ उपलब्ध गराइरहेको उनले बताए।
रौतहटमा ४३ सामुदायिक वन, तीन साझेदारी वन, चार धार्मिक वन, एउटा ब्लक फरेस्ट व्यवस्थापन वन रहेको छ। रौतहटमा ३० हजार १७७ हेक्टर अर्थात् २९ प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ जसमा सबैभन्दा बढी चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको भू–भागमा वन क्षेत्र पर्दछ। प्रमुख साहले वन अतिक्रमण हटाउनका लागि आवश्यक काम अगाडि बढाइएको जानकारी दिए। राज्यको नीतिअनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाइने उनले जानकारी दिए।