सुचना, समाचार र मनोरन्जन

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवार

काठमाडौं :
स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवारका लागि सारिएको छ। उच्च अदालत पाटनका मा.न्या.श्री गिता प्रसाद तिम्सिना र मा.न्या.श्री दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ।
मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ। १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको, निर्देशक यम थापा को उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो।
भोलि बुधवार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुने छ। आमा र छोरीको कथामा आधारित फिल्म ‘लालीबजार’ कुनै समुदाय विशेषलाई लक्षित गर्दै भावनामा ठेस पुग्ने संवाद र दृश्य नभएको जानकारी दिदै सार्वजनिक पत्रकार सम्मेलनमा बादी अभियन्ताले तारिफ गरेका थिए। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्।
यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन्। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
Leave A Reply

Your email address will not be published.