सुचना, समाचार र मनोरन्जन

नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’ को पहिलो झलक सार्वजनिक

काठमाडौं:

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरेकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मका दुईवटा पोस्टर सार्वजनिक गरेकी हुन्।

सार्वजनिक पोस्टरले दर्शकमाझ फिल्मप्रति ठूलो कौतुहलता पैदा गरेको छ। नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा उनी छोटो कपाल, घाँटीमा कालो धागो र स्कुले पोसाक (निलो फ्रक) मा देखिएकी छन्। सामान्यतया नेपाली फिल्मका नायिकाहरू लामो कपाल र शृङ्गारिक अवतारमा देखिने गरे पनि नीताले यसमा ‘डी(ग्लाम’ लुक्स अपनाएकी छन्। यसले उनको पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको र आफ्नै संसारमा रमाउने निर्दोष पात्र भएको संकेत गर्छ।

अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन्। उमेरले सानो भए पनि अशोकको पात्रले नीतालाई बोक्नुले फिल्ममा उनको भूमिका एक संरक्षक वा अटुट सहाराको रूपमा रहेको बुझिन्छ। दुवैको अनुहारमा झल्किने उन्मुक्त हाँसोले उनीहरूबीचको सम्बन्धमा एउटा शुद्ध भावनात्मक कथा रहेको पुष्टि गर्छ।

भदौ १२ गतेमा रक्षाबन्धनको अवसर पारेर प्रदर्शन तय गरिएको यस फिल्मको कथा, पटकथा र निर्देशन नीता स्वयंले सम्हालेकी छन्। नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता शंकर पाण्डे हुन्। यस फिल्ममा फिल्ममा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ। कार्टुन क्रुका डान्सर सरोज अधिकारीले यसै फिल्ममार्फत ‘क्रिएटिभ निर्देशक’ का रूपमा काम सुरु गरेका छन्। सुदिप बरालको छायांकन रहेको फिल्ममा शिवम् अधिकारीको संवाद र साहिल खानको सम्पादन रहनेछ। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.