पोखरा/सुनिता शर्मा
बागलुङ जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन अन्तर्गत ढोरपाटन नगरपालिका–८ र ९ का नागरिकले विद्युत सुविधा जडानप्रति खासै चासो नदेखाएका छन् ।
नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख बिक्रम अमात्य सहितको टोली गाउँमै पुगेर सरकारी स्वामित्वमा रहेको विद्युत सेवाको उपयोगिता, आवश्यकता र दीर्घकालीन फाइदाबारे स्थानीयलाई सम्झाउने प्रयास गरे पनि अपेक्षित उत्साह नदेखिएको हो ।
प्रमुख अमात्यका अनुसार गण्डकी प्रदेशका अधिकांश स्थानमा विद्युत सेवा विस्तार भइसकेको छ भने दुर्गम क्षेत्रमा समेत विद्युत पु¥याउने अभियानलाई तीव्रता दिइएको छ । ढोरपाटन र निशिखोला गाउँपालिका एक–अर्कासँग सिमाना जोडिएका क्षेत्र भएकाले यी स्थानमा विद्युत विस्तार भएपछि पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । प्रदेश ४ र ५ जोडने सडक सञ्जाल समेत जोडिएको हुनाले सो मार्गबाट आवतजावत गर्ने नागरिक र पर्यटकलाई सहज हुनुका साथै विद्युत र सडकको विस्तारले पर्यटनको बिकासमा टेवा पुग्ने प्रमुख अमात्यले बताए ।
उनले गण्डकी प्रदेशको दुर्गम हिमाली क्षेत्र चुमनुव्री मा समेत विद्युत पु¥याउने पहल भइरहेको जानकारी दिए । त्यस्तै, पदमार्ग हुँदै पर्यटक पुग्ने चर्चित पर्यटकीय गन्तव्य उपल्लो मर्दी तथा अन्नपूर्ण आधार शिविर र (ABC) सम्म पनि विद्युत विस्तारको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
विद्युत विस्तारसँगै दुर्गम पर्यटकीय क्षेत्रको जीवनस्तर सुधार, पर्यटन व्यवसाय प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ