सुचना, समाचार र मनोरन्जन

नेपाली युवा उद्यमी मञ्चको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” सम्पन्न

पोखरा,
नेपाली युवा उद्यमी मञ्च (NYEF) पोखरा च्याप्टरले व्यवसाय प्रवर्द्धन केन्द्र तथा पोखरा महानगरपालिका सँगको सहकार्यमा आयोजना गरेको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” कार्यक्रम सम्पन्न गरेको छ। वैशाख ३० गतेदेखि सुरु भएको कार्यक्रम जेठ ६ गते सम्पन्न भएको हो।

कार्यक्रममा ४० जना सहभागी रहेका थिए। सहभागीहरूलाई व्यवसाय योजना निर्माण, नेतृत्व विकास, प्रस्तुतीकरण कला तथा उद्यमशीलतासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका सदस्यहरूसँगै विभिन्न प्रतिष्ठित उद्यमी तथा व्यवसायिक व्यक्तित्वहरूले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको अन्तिम दिन आयोजित बिजनेस पिचिङ प्रतियोगितामा ११ समूहले आफ्ना व्यवसायिक योजना निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। प्रतियोगितामा “हिमेत्सा” समूहले एआई शिक्षासम्बन्धी व्यवसायिक अवधारणा प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरी रु. १ लाख पुरस्कार प्राप्त गरेको थियो।

त्यसैगरी “होम टुहोम सर्भिस” समूह दोस्रो हुँदै रु. ५० हजार, “अर्गानिक साइकल” समूह तेस्रो हुँदै रु. ३० हजार तथा “आमा–बा” समूह चौथो हुँदै रु. २० हजार पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उक्त जानकारी कार्यक्रम संयोजक तथा मञ्चका सदस्य लत्सन राज श्रेष्ठले दिएका हुन्।

यस वर्षको बिजनेस पिचिङ प्रतियोगिताका निर्णायकहरूमा ग्लोबल हवका प्रमुख सञ्चालन अधिकृत सन्दीप मानन्धर, म्याजेस्टिक लेक फ्रन्ट होटलका अध्यक्ष तथा बिजी बी क्याफेका प्रबन्ध निर्देशक सुनिल बहादुर भट्टराई र मिडटाउन ग्यालेरियाका प्रबन्ध निर्देशक निकेश द्वा रहेका थिए। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य को समेत उपस्थिति रहेको थियो।

नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरले “लिडर्स प्रोजेक्ट” पहिलो पटक तत्कालीन अध्यक्ष निरन केसीको कार्यकालमा आयोजना गरेको थियो। त्यसयताका संस्करणहरू व्यवसाय प्रवर्द्धन केन्द्र र पोखरा महानगरपालिकासँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन्। यस वर्ष उक्त सहकार्यको तेस्रो संस्करण आयोजना गरिएको हो।

यस कार्यक्रमका संयोजक लत्सन राज श्रेष्ठ रहेका थिए भने सह–संयोजकका रूपमा अस्मित भारी, आयुष्मा श्रेष्ठ तथा अभिनव धितालले सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमका मुख्य प्रायोजकहरूमा अर्थसिद्धि प्रा.लि., बराही बेकरी, NMB Microfinance तथा Informatics College रहेका थिए।

कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष समेज राज भण्डारीले सहभागी, निर्णायक, प्रायोजक तथा सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमले युवाहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवप्रवर्तनप्रति सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.