सुचना, समाचार र मनोरन्जन

फुटपाथ अतिक्रमण सवारी साधन धमाधम कारबाहीमा

पोखरा, 
जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका का नगर प्रहरीको संयुक्त टोलीले पोखराका विभिन्न क्षेत्रमा फुटपाथ अतिक्रमण गरी पार्किङ गरिएका सवारी साधनमाथि कारबाहीलाई निरन्तरता दिएको छ।

 अभियानका क्रममा बुधमार मात्र पोखरा महानगरपालिका अन्तर्गत पर्ने सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार तथा पृथ्वीचोक क्षेत्रमा फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका २०२ वटा सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई हिँडडुल गर्नसमेत समस्या हुने गरी फुटपाथमा मोटरसाइकल र स्कुटर पार्किङ गरिएको पाइएपछि अभियान सञ्चालन गरिएको हो।

कारबाहीका क्रममा १०१ वटा सवारी साधनलाई ‘अन द स्पट’ कारबाही गरिएको छ भने थप १०१ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ८१ वटा स्कुटर र २० वटा मोटरसाइकल रहेका छन्।

प्रहरीले सार्वजनिक स्थान तथा फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ नगर्न आग्रह गर्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.