पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको छ । ती जिल्लाका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ ।
अत्यधिक गर्मीका कारण थकाइ, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ।
तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ । यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।