सुचना, समाचार र मनोरन्जन

गायक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

काठमाडौं :

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार पारिएको सो गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका हुन्। आधुनिक स्वाद र रोमान्टिक शैलीको समिश्रण रहेको ‘झिम झिम’ ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियोलाई पी माधवले निर्देशन गरेका हुन्। आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति रहेको भिडियोमा दीपिका तामाङको कोरियोग्राफी छ। भिडियोमा गायक बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनय र केमिष्ट्रीले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

प्राविधिक पक्षमा पनि भिडियो निकै मजबुत देखिएको छ। भिडियोका डीओपी विवेक मगर हुन् भने छायांकन योन्जनले गरेका हुन्। यसको दृश्य सम्पादन सोवित मगरले गरेका हुन्। भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, रंग संयोजन (कलर ग्रेडिङ) तथा सम्पादन शैलीले गीतलाई आधुनिक र स्तरीय बनाएको छ।

गीत सार्वजनिक कार्यक्रममा विभिन्न कला, संगीत तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पुनम अग्रवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हाकिम प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमका वक्ताहरूले नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताले सिर्जनात्मक र गुणस्तरीय काम गरिरहेको उल्लेख गर्दै ‘झिम झिम’ ले दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताए। उनले दर्शक तथा स्रोताबाट प्राप्त साथ र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ सिर्जनासहित उपस्थित हुने प्रतिबद्धता जनाए।

सार्वजनिक भएको ‘झिम झिम’गीत तथा भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत बजारमा उपलब्ध भइसकेको छ।

Leave A Reply

Your email address will not be published.