सुचना, समाचार र मनोरन्जन

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौँ,

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ ।

यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’सम्बन्धी छलफल छ । छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेकोमा जोड दिइएको छ ।

दिगो पर्यटन परियोजना ९एसटिपी०का राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले पर्यटन प्रवर्द्धनका लागि स्पष्ट रणनीति र समन्वित प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।

त्यसअवसरमा विश्वव्यापी परामर्शदाता संस्था ‘बीड’ले तयार पारेको रणनीति र पाँच वर्षीय कार्ययोजना प्रस्तुत गरियो । बीडका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपाल पर्यटनलाई सङ्ख्यामा आधारित ढाँचाबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् । योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गरिएको जनाइएको छ ।

उक्त रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छ वटा आधारस्तम्भको विश्लेषण गरेको छ । नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्मिक, आरोग्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तरराष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले नेपालका सीमावर्ती शहरमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताउनुभयो । उहाँले काठमाडौँ बाहिरका सहरलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्टहरु आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

युएनडिपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पुँजीमा रुपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गर्नुभयो ।

“नेपालको पर्यटनका विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्वपूर्ण छ । तर, अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । छलफलमा सहभागीले नेपालको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ सुदृढ गर्न, डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन, नयाँ गन्तव्यको प्रवद्र्धन गर्न तथा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० होटल व्यवसायी सङ्घ, इसिमोड, नारालगायत विभिन्न पर्यटन क्षेत्रका संस्थाको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.