सुचना, समाचार र मनोरन्जन

विश्वसुन्दरी प्रतियोगिताले कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने परिवारलाई सघाउने

काठमाडौं,

विश्वसुन्दरी प्रतियोगिताले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई  सहयोग गर्ने भएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले  कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् । विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन्।

रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् । ‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् ।

सहअध्यक्ष गुरुङले उक्त पोस्टमा रंगशाला र नेपालको राष्ट्रिय झण्डाको तस्वीर पनि प्रस्तुत गरेका छन् । गुरुङले सन् २०२३ को विश्वसुन्दरी प्रतियोगिताको संस्करणबाट औपचारिक रुपमा मिस वल्र्डको सहअध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दैछन् ।

यसैबीच, ज्यान गुमाउने आप्रवासी कामदारका परिवारलाई सघाउनेतर्फ मिस नेपाल आयोजक द हिडन ट्रेजरले पनि सोचिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.