पोखरा :
पोखरामा लेनदेनको विषयलाई लिएर आफ्नै सासूमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. २ घर भएका ४३ वर्षीय ध्रुबराज अधिकारीलाई चक्कु सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो अन्दाजी ४ : ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. १७ राममन्दिर नजिक लेनदेनको विषयमा विवाद हुँदा अधिकारीले आफ्नै सासू ४७ वर्षीया मुना तिवारीमाथि चक्कु प्रहार गरेका थिए। माझठाना घर भई हाल पोखरा १७ बिरौटा बस्दै आएकी तिवारीलाई अधिकारीले शरिरको पेट, ढाड र छातिमा चक्कु प्रहार गरि गम्भीर घाइते बनाएका छन्।
उक्त घटनाको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी सुरुमा नोबेल अस्पताल पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका अधिकारीमाथि कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।