सुचना, समाचार र मनोरन्जन

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा,

पोखरा रंगशालामा आइतबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय राजदूतावास, काठमाडौँ र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजित विशाल योग शिविरमा करिब ७ हजार योग अभ्यासकर्ताले सहभागिता जनाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित नेपाल र भारतका उच्च पदस्त व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले जीवनशैलीजन्य समस्याहरू, मानसिक तनाव र असन्तुलनको समाधानका रूपमा योगको भूमिका अपरिहार्य रहेको उल्लेख थिए । ‘योग शारीरिक व्यायाम मात्र होइन, जीवन जिउने कला हो। शरीर, मन र आत्माको सन्तुलनमार्फत योगले हामीलाई सशक्त, सचेत र नैतिक बनाउँछ,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राख्दै विगत वर्षदेखि ‘गण्डकी स्वजागरण अभियान’ सञ्चालन गरेको र प्रदेशलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने नीति लिएको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे । उनले गण्डकीको प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधता रहेको भूगोल योग अभ्यासका लागि अत्यन्त उपयुक्त रहेको समेत औंल्याए ।

सहभागीहरूले हिमाल, ताल र शान्त वातावरण भएको पोखरालाई योग साधना, ध्यान र मानसिक आरोग्यता प्रवर्द्धनको लागि आदर्श गन्तव्यका रूपमा विकास गर्न सकिने ठोस सम्भावना रहेको धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.