सुचना, समाचार र मनोरन्जन

सडक अवरोधले इन्धन र खाद्यान्न सङ्कट बढेपछि बोलिभियामा सङ्कटकालको घोषणा

 

बोलिभिया। राष्ट्रपति रोद्रिगो पाजले शनिबार सङ्कटकालीन अवस्था घोषणा गरेका छन्। यसले सेनालाई देशको राजधानी ला पाजलगायत प्रमुख शहरहरूमा इन्धन र खाद्यान्न आपूर्तिमा ठूलो अवरोध पुर्याइरहेका सडक अवरोध हटाउने व्यापक अधिकार दिनेछ।

 

पाँच सातादेखि चलेको विरोध प्रदर्शनमा सरकारले लगाएको कडा मितव्ययिता नीति (विशेष गरी इन्धन अनुदान कटौती) र अन्य मुद्दाहरूको विरोध गर्दै राष्ट्रपति पाजले राजीनामा दिनुपर्ने माग गरिएको छ। प्रदर्शनका क्रममा डाइनामाइट बोकेका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच हिंसात्मक झडप भएका छन। अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ३६५ जनालाई पक्राउ गरिएको छ र ३७ जना घाइते भएका छन्।

 

बोलिभियाको मानव अधिकार आयोग र राष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार आन्दोलनका क्रममा कम्तीमा १७ जनाको मृत्यु भएको छ, जसमध्ये धेरैजसाकोे यातायात अवरोधका कारण समयमै उपचार नपाएर मृत्य भएको हो।

 

प्रमुख सडकहरूमा गरिएका अवरोधले ला पाज शहरलाई पूरै घेराबन्दीमा पारेको छ । घेराबन्दीले इन्धन र खाद्यान्नको अभाव, यातायात सेवा ठप्प र बिरामीहरूलाई अस्पताल पुग्न नदिँदा कम्तीमा सात जनाको मृत्यु भएको सरकारले जनाएको छ।

 

करिब २० वर्षसम्म शासन गरेको मास पार्टीको अन्त्य गर्दै रोद्रिगो पाज गत नोभेम्बरमा सत्तामा आएका थिए । उनले इन्धन अभाव समाधान गर्ने, केन्द्रीय बैंकको खाली भइसकेको कोष र विदेशी लगानी बढाउने वाचा गरेका थिए। तर उनको इन्धन अनुदान कटौतीलगायत मितव्ययिता नीतिले मुद्रास्फीति बढाएको र जनस्तरमा असन्तुष्टि बढाएको छ।

 

राष्ट्रपति पाजले राष्ट्रलाई सम्बोधन गर्दै भने, “यो सङ्कटकाल जनताको जीवनलाई प्रतिबन्ध लगाउन होइन, बरु उनीहरूलाई स्वतन्त्रता फिर्ता दिनका लागि हो।”

 

प्रदर्शनका कारण व्यवसाय बन्द हुँदा सुपरमार्केटका सामान सकिएका छन् र अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ।

Leave A Reply

Your email address will not be published.