सुचना, समाचार र मनोरन्जन

विश्वकप २०२६: समूह चरणको अन्तिम खेल आज, स्विट्जरल्यान्ड र क्यानडा भिड्दै

पोखरा,
फिफा विश्वकप २०२६ अन्तर्गत आज (बुधबार) देखि समूह चरणका अन्तिम राउन्डका खेलहरू सुरु हुँदैछन्। खेललाई थप रोमाञ्चक र निष्पक्ष बनाउन अन्तिम राउन्डमा एउटै समूहका खेलहरू एकै समयमा सञ्चालन हुने तालिका छ।

आज पहिलो खेल समूह ‘बी’ का टोलीहरूबीच हुँदैछ। भ्यानकुभरको बिसी प्लेस स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजे स्विट्जरल्यान्ड र सह-आयोजक क्यानडा भिड्नेछन्। सोही समयमा सिएटल स्टेडियममा कतार र बोस्निया एन्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलले यस समूहबाट नकआउट चरणमा पुग्ने र विश्वकप यात्रा सकिने टोलीहरूको अन्तिम टुङ्गो लगाउनेछ।

यस्तो छ समूह ‘बी’ को गणितीय अवस्था
हालसम्म यस समूहबाट कुनै पनि टोली नकआउट चरणमा पुगिसकेका छैनन्। दुई खेल खेलिसक्दा क्यानडा र स्विट्जरल्यान्डले समान १ जित र १ बराबरीसहित ४-४ अंक जोडेका छन्। गोल अन्तरका आधारमा क्यानडा अघि छ।

अर्कोतर्फ, कतार र बोस्निया एन्ड हर्जगोभिनाले समान १ बराबरी र १ हार व्यहोर्दै १-१ अंक मात्र जोडेका छन्।

क्यानडाको यात्रा: पहिलो खेलमा बोस्नियासँग १-१ को बराबरी खेलेको क्यानडाले दोस्रो खेलमा कतारलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

स्विट्जरल्यान्डको यात्रा: पहिलो खेलमा कतारसँग १-१ को बराबरीमा रोकिएको स्विट्जरल्यान्डले दोस्रो खेलमा बोस्नियालाई ४-१ ले पन्छाएको थियो।

नकआउट समीकरण: कसको सम्भावना कति?
क्यानडा र स्विट्जरल्यान्ड: आजको खेलमा जित निकाल्ने टोली समूह विजेता बन्दै सिधै नकआउट चरणमा प्रवेश गर्नेछ। खेल बराबरीमा सकिएमा दुवै टोली सहजै अर्को चरणमा पुग्नेछन्। पराजित भए पनि अन्य खेलको नतिजा अनुकूल आएमा उपविजेता वा उत्कृष्ट तेस्रो टोलीका रूपमा अगाडि बढ्ने सम्भावना जीवितै रहनेछ।

कतार र बोस्निया एन्ड हर्जगोभिना: शीर्ष दुईमा परेर नकआउट पुग्ने झिनो सम्भावना कायमै राख्न दुवै टोलीलाई आज जित्नैपर्ने दबाब छ। यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने जित निकाल्ने टोलीले अन्य समीकरणको आधारमा अघिल्लो चरणको आशा जीवित राख्नेछ।

इतिहास रच्ने दाउमा सह-आयोजक क्यानडा
सह-आयोजक क्यानडाले फिफा विश्वकपको इतिहासमा अहिलेसम्म कहिल्यै पनि नकआउट चरण (अन्तिम १६) को यात्रा तय गर्न सकेको छैन। तर, आज घरेलु मैदान र दर्शकमाझ स्विट्जरल्यान्डविरुद्ध कम्तीमा बराबरी मात्र गरे पनि क्यानडाले नयाँ इतिहास रच्नेछ। २४ वर्षपछि यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २००२ मा भएको एकमात्र मैत्रीपूर्ण भेटमा क्यानडाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको थियो।

यता, विगतका लगातार तीनवटा विश्वकपमा अन्तिम १६ सम्म पुगेको अनुभवी स्विट्जरल्यान्ड पनि २०२६ मा सोही सफलता दोहोर्‍याउँदै आफ्नो बलियो साख जोगाउन मैदान उत्रनेछ।

पहिलोपटक नकआउट पुग्ने कतार र बोस्नियाको संघर्ष
समूहको अर्को खेलमा जितविहीन रहेका बोस्निया एन्ड हर्जगोभिना र कतार आमनेसामने हुँदैछन्। फिफा विश्वकपको इतिहासमा यी दुई राष्ट्रहरू पहिलोपटक एकआपसमा भिड्न लागेका हुन्। पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यसहित दुवै टोलीले मैदानमा आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछन्।

Leave A Reply

Your email address will not be published.