सुचना, समाचार र मनोरन्जन

२६६० अंकमा झर्‍यो सेयर बजार, ४ महिनाकै न्यून

पोखरा,

नेपाली सेयर बजारमा लगातार गिरावट आउने क्रम जारी रहेको छ। साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा १४.४५ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से परिसूचक २६६० अंकमा ओर्लिएको छ, जुन पछिल्लो ४ महिनायताकै न्यून बिन्दु हो। यसअघि मंगलबार पनि नेप्से परिसूचक २६.१६ अंकले ओरालो लागेको थियो।

बुधबार कायम भएको नेप्सेको यो आकार गत फागुन १४ गते यताकै सबैभन्दा कम हो, जतिबेला नेप्से २६५४ अंकमा रहेको थियो। बुधबार बजार परिसूचक दिनभरजसो नै राताम्मे देखियो। कारोबारका क्रममा दिउँसो १ बजे नेप्से आजको न्यूनतम बिन्दु २६३४ अंकसम्म तल झरेको थियो।

कारोबार रकममा सामान्य सुधार बजार परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ। मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार त्यो बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कुल कारोबार भएका कम्पनीहरूमध्ये ६२ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

समूहतर्फ हेर्दा फाइनान्स र व्यापार बाहेक अन्य सबै उपसूचकहरू ओरालो लागेका छन्। बुधबार फाइनान्स समूह ०.१९ प्रतिशत र व्यापार समूह ०.८१ प्रतिशतले बढेका छन्। अर्कोतर्फ बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य समूह १.०२ प्रतिशतले घटेका छन्।

नयाँ कम्पनीहरूको मूल्यमा आकर्षण बजार घटिरहँदा हालै मात्र सूचीकृत भएका दुई नयाँ कम्पनीहरूको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। यो उच्च वृद्धिसँगै दुवै कम्पनीको सेयर मूल्य प्रतिइकाई ४५६.२० रुपैयाँ पुगेको छ।

यसैगरी भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशत, सीवाईसी लघुवित्तको ९.९० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको मूल्य ५.८९ प्रतिशतले बढेको छ। यता सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.०५ प्रतिशत तथा भगवती हाइड्रोपावरको मूल्य ३.६६ प्रतिशतले ओरालो लागेको छ। बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, युनाइटेड मोदी हाइड्रोपावर, सप्तकोशी विकास बैंक र साहस ऊर्जा अग्रस्थानमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.