सुचना, समाचार र मनोरन्जन

नारच्याङ झरनाले गाउँमा थप्यो पर्यटनको रौनक

प्रमिला कुवँर, पोखरा ।

कहिलेकाहीँ प्रकृतिले यस्ता दृश्य सिर्जना गर्छ, जसलाई शब्दले होइन, अनुभूतिले मात्र बयान गर्न सक्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा रहेको नारच्याङ झरना त्यही अनुभूतिको एउटा जीवन्त चित्र हो, जहाँ पहाड, पानी र हरियालीले मिलेर प्रकृतिको अनुपम चित्र रचेका छन् । अग्ला पहाडका काखबाट गर्जनसहित झर्ने सेताम्मे पानी, वरिपरि हरियाली वन, चिसो हावा र प्राकृतिक शान्त वातावरण—यी सबै दृश्य एकै ठाउँमा अनुभव गर्न चाहनेका नारच्याङ झरना उत्कृष्ट गन्तव्य बनेको छ ।

नारच्याङ गाउँमा रहेको करिब ३०० मिटरभन्दा बढी उचाइबाट खस्ने यो झरना पछिल्ला वर्षहरुमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बिदाको समयमा विद्यालय, कलेज, सहकारी तथा विभिन्न संघसंस्थाका समूहहरु भ्रमणका लागि पुग्ने गरेका छन् । बेनी–जोमसोम सडकखण्डबाट देखिने यो झरना वर्खामा यसको बहाव झन् ठूलो बन्छ ।

स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यमा झरनासम्म पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थललगायतका पूर्वाधार निर्माण गरिएको नारच्याङका पूर्ववडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । झरनाले गाउँमा पर्यटन गतिविधि बढाएको उनको भनाइ छ । पर्यटकको आगमनसँगै होमस्टे, स्थानीय परिकार र कृषि उत्पादनको माग बढ्दै गएको छ । झरनामाथि मानव बस्ती नभएकाले यहाँको पानी सफा मानिने बताउँदै रक क्लाइम्बिङ, क्यानोनिङजस्ता साहसिक गतिविधिको सम्भावना रहेको फगामीले बताए ।

मगर संस्कृतीको गाउँ ‘नारच्याङ’
धौलागिरि र अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित नारच्याङ गाउँ आफैंमा मगर समुदायको मौलिक संस्कृति, परम्परागत ढुंगाका घर र आत्मीय आतिथ्यका लागि परिचित छ । त्यसैले यहाँ पुग्ने पर्यटकले झरना मात्र होइन, स्थानीय संस्कृति, परम्परा र ग्रामीण जीवनशैलीको पनि अनुभव गर्न सक्छन् । प्रकृति र संस्कृतिको यही संगमले नारच्याङलाई फरक पहिचान दिएको छ ।

शान्त वातावरण र स्वच्छ हावाले शहरको व्यस्त जीवनबाट केही समय टाढा बिताउन चाहनेका लागि नारच्याङले विशेष अनुभव प्रदान गर्छ । नारच्याङ प्राकृतिक रुपमा मात्र होइन, सांस्कृतिक रुपमा पनि धनी गाउँ हो । गाउँमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वले समुदायबीचको एकता र आपसी सद्भावलाई अझ बलियो बनाएको छ । पाहुनालाई आत्मीयताका साथ स्वागत गर्ने स्थानीय संस्कारले पनि नारच्याङलाई विशेष बनाउँछ ।

अन्नपूर्ण प्रथम आधार शिविर जाने बाटोमा पर्ने नारच्याङ गाउँमा मगर समुदायको बाहुल्यता छ । नारच्याङमा लेक गाउँ, बेसी गाउँ, र बगर टोल छन् । ‘लेक गाउँ’ नारच्याङको प्रमुख बस्ती मध्येको एक हो । पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुंगे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको छ । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुदायका छन् ।

‘तलबाट हेर्दा यस्ताे ठाउँमा को बस्ला ? जस्तो देखिन्छ तर लेकगाउँमा पुगेपछि स्वर्गको अनुभुति हुन्छ । गाउँ नजिकैको स्वाँराफाँट त झन् मन लाेभ्याउने छ  लेकगाउँ प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । गाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ,’ उनले भने । खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुुदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।

भूमे पुजा
नारच्याङ गाउँमा हरेक वर्ष जेठको उजेली मंगलबारमा भूमेपूजा मनाउने चलन छ । गाउँमाथीको नारच्याङ झरनामा पुगेर भूमिदेवी र प्रकृतिको आराधना गरिन्छ । नारच्याङ झरनामा चिह्न र कृष्ण भुमे २ दाजुभाइको वास रहेको मानिन्छ । त्यसैले पूजामा दुई वटा बाख्रा चढाउनै पर्छ ।

मगर समुदायमा भूमेपूजा प्रकृतिलाई खुसी पार्ने र प्राकृतिक अनिष्टबाट जोगिने विश्वाससँग जोडिएको छ । प्रकृतिसँगको सम्बन्ध, सामुदायिक एकता र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानको उत्सव हो भुमे पूजा । मगर समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

भूमिलाई जीवनदाता र प्रकृतिलाई संरक्षण गर्ने शक्तिका रुपमा मान्दै गाउँ, खेतीपाती, वनजंगल, पशुधन र मानव जीवनको रक्षा होस् भन्ने कामनासहित पूजा गर्ने चलन रहेको फगामीले बताए । गाउँमा रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नआओस्, खेती राम्रो होस् र समुदायमा सुख–शान्ति कायम रहोस् भन्ने कामना गरिने उनको भनाइ छ ।

उनका अनुसार पहिले भुमे पूजाको रौनक २ महिना अघिदेखि सुरु हुन्थ्यो । जाँड (छ्याङ) राख्नलाई हरेक घरबाट कुरिया (सदस्य) संख्याअनुसार त्यति माना कोदो उठाउने चलन थियो । भातका लागि पनि चामल जम्मा गरिन्थ्यो । उनले विगत सम्झिदै भने, ‘अहिले त्यस्तो चलन त हराउँदै गए तर भुमे पूजा भने अझै निरन्तर भइरहेको छ । परम्परा जोगिएको देख्दा खुसी लाग्छ ।’ भूमे पूजा हेर्नलाई बागलुङ, पर्वत, कास्कीबाट पनि आउँछन् । पूजामा आएकालाई प्रसाद दिइन्छ, प्रसादका रुपमा जाँड (छ्याङ) खानै पर्छ ।

Leave A Reply

Your email address will not be published.