अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिएका छन्। इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ ।
ह्वाइट हाउसमा सोमबार पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताए । उनले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दाबी गर्दै तेहरानलाई उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर दिइएको उल्लेख गरे ।
ट्रम्पका अनुसार वार्ताको मुख्य उद्देश्य हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउनु र इरानको आणविक कार्यक्रमलाई निःशस्त्रीकरणतर्फ लैजानु हो । उनले हर्मुज निकट भविष्यमा खुल्न सक्ने सम्भावना रहेको तर आणविक निःशस्त्रीकरण प्रक्रियाले केही समय लाग्न सक्ने बताए ।
यद्यपि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नरहेको स्पष्ट पार्नुभएको छ । उनका अनुसार ओमानसँग हर्मुज जलघाँटी हुँदै सुरक्षित आवागमनको व्यवस्थाबारे छलफल भइरहेको हो । उनले सम्भावित सहमतिले जलघाँटी तत्काल खुल्ने अर्थ नलाग्ने पनि स्पष्ट गरेका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि दुवै पक्षबीच द्वन्द्व जारी छ । बीचमा केही समय कूटनीतिक प्रयासका कारण तनाव कम भए पनि इरानले अझै पनि मिसाइल र ड्रोन आक्रमण गर्ने क्षमता कायम राखेको तथा समृद्ध युरेनियमको मौज्दात सुरक्षित राखेको अमेरिकी पक्षको दाबी छ ।
यसैबीच बेलायतको समुद्री सुरक्षा निकाय युकेएमटीओले मङ्गलबार बिहान ओमान नजिकैको हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट प्रभावित भएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने क्षति र मानवीय हताहतबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि इरानसँग विभिन्न माध्यमबाट संवाद भइरहेको दाबी गर्दै सम्झौता वा पूर्ण समर्पण नभएसम्म परिस्थिति सामान्य नहुने चेतावनी दिनुभएको छ । उनले इरानको आणविक कार्यक्रम अन्त्य हुनैपर्ने अमेरिकी अडान पुनः दोहोर्याएका छन् ।
पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण तथा नागरिक प्रयोजनका लागि मात्रै रहेको बताउँदै आएको छ ।
गत महिना भएको युद्धविराम असफल भएपछि हर्मुज जलघाँटी पुनः तनावको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्गमा इरानले कडा नियन्त्रण कायम राखेपछि अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता बढेको छ ।