सुचना, समाचार र मनोरन्जन

न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष छ

काठमाडौँ,

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष रहेको दाबी गरेका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले न्यायपालिकाको स्वतन्त्रताका विषयमा कुनै पनि दुबिधा पाल्नु नपर्ने स्पष्ट पारेका हुन्।

न्यायपालिकालाई कानुनको शासनको पहरेदार निकायका रूपमा चित्रण गर्दै उनले यो संस्था संविधानवादको मुख्य आधारस्तम्भ रहेको बताए । ‘न्यायपालिकाले कानुनको शासनको मूल्य र मान्यता अनुसार नै आफ्ना कार्यहरू सम्पादन गरिरहेको छ,’ उनले भने, ‘यसमा कतैबाट पनि कुनै किसिमको हस्तक्षेप छैन।’

न्यायपालिकालाई थप जिम्मेवार र पारदर्शी बनाउनका लागि आन्तरिक रूपमा विभिन्न सुधारका कामहरू भइरहेको जानकारी दिँदै पौडेलले न्यायाधीशहरूको आचारसंहिता न्यायपालिका आफैँले बनाएर लागू गरेको बताए । उनले न्यायपालिकाले आफ्नै रणनीतिक कार्ययोजना बनाएर काम गरिरहेको र त्यसमा कतैबाट पनि प्रश्न उठ्न नसक्ने गरी कार्यान्वयन भइरहेको उल्लेख गरे।

मुख्य रजिस्ट्रार पौडेलले न्यायमा पहुँच पुर्‍याउनु र न्यायपालिकाको आस्था एवं विश्वसनीयता जोगाउनु आफूहरूको मुख्य प्राथमिकता रहेको बताए। उनले भने, ‘न्यायपालिका निन्दा वा प्रशंसाभन्दा पनि जनताको आस्थामा अडिने संस्था हो। यो जनताको आस्थाको केन्द्र हो र यसलाई जोगाउन हामी प्रतिबद्ध छौँ।’

न्यायिक सुशासन र न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउन रणनीतिक योजनाअनुसार काम भइरहेको बताउँदै उनले न्यायपालिकाले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गरिरहेको विश्वास दिलाए।

Leave A Reply

Your email address will not be published.