काठमाडौँ :
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पोखरामा नयाँ इलेक्ट्रिक स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ। पोखरास्थित आधिकारिक बिक्रेता स्क्वायर मोटर्समार्फत कम्पनीले सो स्कुटर नेपाली बजारमा औपचारिक रूपमा बिक्री सुरु गरेको हो।
नेपाली बजारमा टिभिएस अर्बिटरको सुरुवाती मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। यो स्कुटर नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्टियन कपर गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।
३.१ किलोवाट आवर ब्याट्री क्षमता रहेको यस स्कुटरले एक पटकको फुल चार्जमा १५८ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। सहरी यात्रालाई सहज र सुरक्षित बनाउने उद्देश्यले निर्माण गरिएको यस स्कुटरमा पहिलो पटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विविध सडक तथा भू-धरातलीय अवस्थामा उत्कृष्ट पकड र नियन्त्रण प्रदान गर्छ। यसका साथै १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, ३४ लिटरको विशाल स्टोरेज, ८४५ मिलिमिटर लामो सिट र २९० मिलिमिटरको सीधा फुटबोर्ड समावेश गरिएको छ।
डिजिटल प्रविधि र सुरक्षाका हिसाबले स्कुटरमा फोन कल तथा म्यासेज देखिने रङ्गीन डिजिटल डिस्प्ले, मोबाइल एप कनेक्टिभिटी, नक्सा तथा नेभिगेसन, लोकेसन ट्र्याकिङ, चोरी तथा दुर्घटना अलर्ट र स्वचालित सफ्टवेयर अपडेटजस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। ऊर्जा बचत तथा सुरक्षित सवारीका लागि यसमा इको र पावर गरी दुई मोडलगायत विशेष ब्रेकिङ प्रणाली पनि छ।
सार्वजनिक कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टिभिएस आइकुबको सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। त्यसैगरी जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली सडक र मौसम अनुकूल व्यापक परीक्षणपश्चात् ल्याइएको यो स्कुटरले आधुनिक प्रविधि र युवा उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने बताए।