काठमाडौँ,
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत ९३ जना मानिसहरू सम्पर्कविहीन भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली खटाएर हवाई रेकी गर्नेसहितका खोजी कार्यहरू भइरहेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले दिएको जानकारीअनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर सम्पर्कविहीन हुनेहरूमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी रहेका छन्। यसैगरी निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
बाढी आउँदा भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिनको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। बाहिर निस्कन सफल भएका उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।