काठमाडौँ,
रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।
उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।