पोखरा,
रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमको औपचारिक उद्घाटनसँगै कम्पनीले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप विस्तार गरेको हो।
पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई रोयल इन्फिल्डको प्रिमियम मोटरसाइकलिङ अनुभव सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो।

नयाँबजारमा सञ्चालनमा आएको शोरुमको नेतृत्व शिशिर सुबेदी र प्रमेश पराजुलीले गरेका छन्। अटोमोबाइल व्यवसायमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय उनीहरू पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित व्यवसायीका रूपमा परिचित छन्। लामो व्यावसायिक अनुभव र स्थानीय बजारको गहिरो बुझाइका कारण नयाँ शोरुममार्फत ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिएको छ।
करिब १ हजार ३०० वर्गफिट क्षेत्रफलमा फैलिएको शोरुमलाई ग्राहकलाई प्रिमियम तथा सहज अनुभव प्रदान गर्ने गरी तयार गरिएको छ। शोरुममा रोयल इन्फिल्डका विभिन्न मोटरसाइकल अवलोकन तथा अनुभव गर्न सकिने व्यवस्था गरिएको छ।
शोरुमसँगै ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा सेवा केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। सेवा केन्द्रबाट नियमित मर्मतसम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ। यसले पोखरा र आसपासका रोयल इन्फिल्ड ग्राहकलाई सेवा लिन थप सहज हुने कम्पनीको अपेक्षा छ।
शोरुम उद्घाटन समारोहको सुरुवात आठ जना बटुकद्वारा गरिएको शान्ति स्वस्ति पाठबाट गरिएको थियो। त्यसपछि धार्मिक विधिअनुसार शोरुम परिसरमा पवित्र जल छर्केर शुभारम्भ गरिएको थियो। देशमा शान्ति, स्थायित्व, समृद्धि तथा सकारात्मक वातावरण कायम रहोस् भन्ने कामनासहित गरिएको प्रार्थनाले उद्घाटन समारोहलाई विशेष बनाएको थियो।

उद्घाटन समारोहको मुख्य आकर्षणमध्ये रोयल इन्फिल्ड गोर्खा एडिसन मोटरसाइकलको विशेष अनावरण पनि रह्यो। उक्त मोटरसाइकलको अनावरण अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले गरेका थिए।
गोर्खा एडिसनले गोर्खा योद्धाहरूको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्ने उद्देश्य बोकेको छ। पोखरामा नयाँ शोरुमको शुभारम्भसँगै विशेष संस्करणको मोटरसाइकल अनावरण गरिनुलाई समारोहको महत्वपूर्ण आकर्षणका रूपमा लिइएको छ।
नयाँबजारस्थित शोरुमले पोखरा तथा आसपासका राइडरलाई रोयल इन्फिल्डको मोटरसाइकलिङ संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ। ग्राहक अनुभव, गुणस्तरीय बिक्रीपछिको सेवा तथा ‘Pure Motorcycling’ को भावनालाई केन्द्रमा राख्दै शोरुमले पोखराको मोटरसाइकलिङ समुदायमा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्य राखेको छ।
रोयल इन्फिल्डबारे
रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको विश्वकै पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्डमध्ये एक हो। विशिष्ट डिजाइन, कालजयी पहिचान र ‘Pure Motorcycling’ को अवधारणाका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. रहेको छ।
