सुचना, समाचार र मनोरन्जन

व्यवसायीको हकहितका लागि अमृत पोखरेललाई जिताउन इलेक्ट्रिक क्लबको अपील

पोखरा,

 पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा पोखरा इलेक्ट्रिक क्लबले आफ्ना अध्यक्ष तथा व्यवसायी अमृत पोखरेल ‘बिजुली अमृत’लाई खुला कार्यसमिति सदस्य पदमा विजयी गराउन अपिल गरेको छ।

क्लबका महासचिव प्रकाशकुमार कटुवालले जारी गरेको अपिलमा लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय पोखरेललाई अमूल्य मत प्रदान गरी व्यवसायीको बलियो प्रतिनिधिका रूपमा संघमा स्थापित गर्न आग्रह गरिएको छ।

क्लबले पोखरेलको उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयास मात्र नभई व्यवसायीको हकहित, एकता, संस्थागत सुदृढीकरण र व्यवसायमैत्री वातावरण निर्माणको अभियानका रूपमा लिएको जनाएको छ।

इलेक्ट्रिक व्यवसायमा लामो अनुभव हासिल गरेका पोखरेल हाल पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष, कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष तथा ओरष्टे–पोखरा पोखरेल समाजका सचिवका रूपमा सक्रिय छन्। स्याङ्जाको ओरष्टेबाट पोखरा आएर व्यवसायमा स्थापित भएका उनी बगाले टोलस्थित अंकित इलेक्ट्रिकका सञ्चालक हुन्।

पोखरेलले व्यवसायीका समस्या नजिकबाट बुझेको भन्दै संघमार्फत ती समस्या प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। संघमा पारदर्शिता, व्यावसायिकता, नवीन सोच, उद्यममैत्री वातावरण र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।

यसअघि संघको ३१औँ महाधिवेशनमा समेत स्वतन्त्र रूपमा सदस्य पदमा उम्मेदवारी दिएका पोखरेल यसपटक थप अनुभव र स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएका हुन्। उनले भाषणभन्दा काम र पदभन्दा जिम्मेवारीलाई आफ्नो मूल भावना बनाएको बताएका छन्।

पोखरा इलेक्ट्रिक क्लबले व्यवसायीका सुख–दुःखमा साथ दिने र व्यवसायका समस्या बुझेको नेतृत्व संघमा आवश्यक रहेको भन्दै पोखरेललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण उद्योगी-व्यवसायी तथा मतदातासमक्ष आग्रह गरेको छ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ।

Leave A Reply

Your email address will not be published.