पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा वर्तमान कार्यसमिति सदस्य देवेन्द्र प्रजुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। भदौ २० र २१ गते हुने महाधिवेशनमा उनी क्रम संख्या २ बाट चुनावी प्रतिस्पर्धामा छन्।
लामो समयदेखि उद्योग–व्यवसायसँगै संस्थागत तथा सामाजिक क्षेत्रमा सक्रिय प्रजुले संघको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने एजेन्डा अघि सारेका छन्।
प्रजु २०७९–८१ कार्यकालमा मनोनीत कार्यसमिति सदस्यका रूपमा संघको नेतृत्वमा प्रवेश गरेका थिए। त्यसपछि ३५औँ महाधिवेशनबाट खुला सदस्यमा निर्वाचित हुँदै २०८१–८३ कार्यसमितिमा समेत सदस्यका रूपमा काम गरिरहेका छन्। लगातार दुई कार्यकालको संस्थागत अनुभवलाई अब आर्थिक नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित उनी कोषाध्यक्ष पदमा अघि बढेका हुन्।
व्यावसायिक रूपमा प्रजुको आबद्धता प्रजु आदित्य एग्रो प्रोसेसिङ एन्ड प्याकेजिङ इन्डस्ट्रिजसँग रहेको संघको विवरणमा उल्लेख छ। उद्योग–व्यवसाय सञ्चालनसँगै व्यवसायीका कर, व्यावसायिक वातावरण र संस्थागत सरोकारका विषयमा हुने छलफलमा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ।
प्रजुले व्यवसायीको साझा संस्था बलियो बनाउन आर्थिक व्यवस्थापन विश्वसनीय र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
संघको स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आर्थिक अनुशासन कायम गर्ने तथा आम व्यवसायीप्रति आर्थिक गतिविधिलाई जवाफदेही बनाउने उनको प्राथमिकता छ। आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सके संस्थाप्रतिको व्यवसायीको विश्वास थप बलियो हुने उनको धारणा छ।
उनको चुनावी सन्देश ‘व्यावसायिक एक्यबद्धता, हाम्रो प्रतिबद्धता’ रहेको छ। यही भावनाअनुसार संघलाई व्यवसायीका साझा समस्या र सरोकारमा एकताबद्ध रूपमा अघि बढाउने उनको लक्ष्य छ।
प्रजुको सक्रियता उद्योग–व्यवसायमा मात्र सीमित छैन। उनी लामो समयदेखि क्रिकेट तथा खेलकुद क्षेत्रसँग समेत जोडिएका छन्।
सन् २०१५ मा क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ को उपाध्यक्षका रूपमा सक्रिय रहेका प्रजुले विद्यालय तहदेखि नै क्रिकेटको विकास गर्नुपर्ने धारणा राखेका थिए। पछिल्लो समय पनि उनको क्रिकेट क्षेत्रसँगको आबद्धता निरन्तर छ। सन् २०२६ जुनमा सम्पन्न कास्की जिल्ला क्रिकेट संघको अधिवेशनबाट उनी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
यसले व्यवसायिक संस्थासँगै खेलकुद तथा सामाजिक गतिविधिमा समेत उनको निरन्तर संलग्नता देखाउँछ।
संघको कार्यसमितिमा दुई कार्यकालको अनुभव, व्यवसायिक क्षेत्रको संलग्नता र विभिन्न संस्थागत गतिविधिमा रहेको सहभागितालाई आधार बनाएर प्रजुले कोषाध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
उनका प्राथमिकतामा आर्थिक पारदर्शिता, संस्थागत जवाफदेहिता, स्रोतको प्रभावकारी परिचालन, व्यवसायीको एक्यबद्धता र संघको आर्थिक अनुशासन सुदृढीकरण रहेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा कोषाध्यक्ष पदका लागि प्रजुसहित वर्तमान कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्।
व्यवसायीको साझा संस्था आर्थिक रूपमा बलियो र विश्वसनीय बनाउन आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित प्रजुले उद्योगी–व्यवसायी सदस्यसँग समर्थन र मतका लागि आग्रह गरेका छन्।