म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेपछि चहलपहल बढेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए । व्यवसाय प्रभावित भएपछि २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुख्र्यौली जग्गाको झाडी फाँडेर नयाँ व्यवसाय सुरु गर्ने योजना बनाए ।
“पहिले खेती हुने जमिन हो । बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो”, रावलले भने, “गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ ।”
अहिले १४ रोपनी क्षेत्रफलमा कटेज शैलीमा होटल सञ्चालनमा छ । घरबास शैलीमा सञ्चालित होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ । होटलमा बाहिरबाट सामग्री ल्याउनेभन्दा आफ्नै कृषि फार्ममा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिइएको छ । फार्ममा उत्पादन भएको कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारी होटलमा प्रयोग हुने गरेको छ ।
बागलुङ–बेनी सडकमा पर्ने भुवानेमा बालबालिकाका लागि खेल्ने तथा रमाउने, वनभोज र क्याम्प फायरका लागि आवश्यक स्थान छ । रमेशलाई काठमाडौँमा उच्च शिक्षा अध्ययन पूरा गरेका छोरा सुलभले गाउँ फर्किएर साथ दिएका छन् । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला गाउँमै व्यवसाय गर्ने निर्णय लिनुभएका सुलभले कृषि र पर्यटनलाई जोडेर व्यवसाय विस्तार गर्ने योजना बनाएका छन् ।
“कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ”, उनले भने, “आगामी दिनमा फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना छ ।” कृषि उत्पादन, ग्रामीण वातावरण र आतिथ्य सेवालाई एकैठाउँमा जोडेर भुवानेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रावल परिवारको लक्ष्य छ ।
होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन् । भुवानेको पृष्ठभूमिमा धवलागिरि हिमालको दृश्य देखिन्छ । नजिकै कालीगण्डकी नदी बगिरहेको छ । हिउँदयाममा रत्नेचौरका खेतबारीमा फुल्ने पहेँलो तोरी हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । श्रीलक्ष्मीहरि मन्दिर तथा रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने लामो झोलुङ्गे पुल पनि यहाँका थप आकर्षण हुन् ।
भुवानेमा रावल होटलसँगै चिता हाउस होटल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छ । भारतीय सेनाबाट निवृत्त हरि खत्रीले सञ्चालन गर्नुभएको चिता हाउसले पनि यस क्षेत्रमा होटल तथा पर्यटन गतिविधि बढाउन योगदान पुर्याएको छ । दशकअघिसम्म झाडीले ढाकिएको भुवानेमा अहिले दुई होटल सञ्चालनमा आएपछि मानिसको आवागमन बढेको छ ।
होटल व्यवसायले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गर्नुका साथै आसपासका किसानले उत्पादन गरेका कृषि उपजका लागि बजारसमेत विस्तार गरेको स्थानीय अगुवा ओम रोकाले बताउए ।
“बाँदरको समस्याका कारण खेती गर्न छाडिएको र झाडीले ढाकिएको पुख्र्यौली जमिनलाई पुनः उपयोगमा ल्याएर रावल परिवारले कृषि, आतिथ्य र पर्यटनलाई एउटै व्यवसायमा जोडेको छ”, उनले भने, “यसले गाउँमा बाँझिँदै गएको जमिनलाई उत्पादनसँग जोड्न सकिने र स्थानीयस्तरमै रोजगारी तथा उद्यमका अवसर सृजना गर्न सकिने सम्भावना पनि देखाएको छ ।”