सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढी र फेवाताल दुर्घटनाका दिवंगतप्रति शान्तिको कामना

पोखरा,

भोटेकोशी बाढी तथा फेवा ताल दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्ति र बेपत्ता नागरिकको सकुशल उद्धारको कामना गर्दै पोखरामा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको विशेष पूजामा १ सय ८ वटा शान्तिको दीप प्रज्वलन गरिएको थियो। प्रमुख लामा छेवाङ दोर्जे लामाको नेतृत्वमा ७ जना लामागुरुद्वारा विभिन्न मन्त्र पाठ गर्दै दिवंगत आत्माको चिरशान्ति तथा बेपत्ता नागरिकको सुरक्षित उद्धारको कामना गरिएको हो।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले शान्तिको दीप प्रज्वलन गरी गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य पवित्रा थापा र दीपेन्द्र पहारी, स्थानीयवासी, आमा समूह तथा बैदाम तामाङ सेवा समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा शान्तिको झण्डासमेत फहराइएको थियो।

धार्मिक तथा आध्यात्मिक वातावरणमा सम्पन्न कार्यक्रममा विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको सकुशल उद्धार र पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने सामूहिक प्रार्थना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिनुभयो।

यसैबीच, बैदाम तामाङ सेवा समाजले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १८ हजार ४ सय १६ रुपैयाँ सहयोग गरेको छ।

समाजले धार्मिक कार्यक्रमसँगै विपद्मा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.