पोखरा : कल्प मिडिया एन्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फूटसल प्रतियोगिता–२०८३’ को तयारी पूरा भएको छ। प्रतियोगिताबाट हुने मुनाफा भोटेकोसी बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग गरिने आयोजकले जनाएको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा हुने प्रतियोगितामा सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध पत्रकार खेलाडी सहभागी हुन पाउनेछन्।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
कास्कीबाहेकका जिल्लाबाट सहभागी टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ। प्रतियोगितामा सहभागी सबै खेलाडीको खेल अवधिभर बीमा गरिने आयोजकले जनाएको छ।