बाँके : बाढीमा बेपत्ता भएका व्यक्तिका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दैआएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय तथा उनीहरूलाई भेट्न गएका १९ वर्षीय दीपक रोकाय बाढीसँगै बेपत्ताको २२ दिन पुग्दा पनि कुनै सूचना प्राप्त गर्न नसक्दा पीरमाथि दुःख थपिएको अनलालले बताए।
बुढेसकालको सहारा एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलालको घरमा यतिबेला सन्नाटा छाएको छ । सासको आस मारिसके पनि लास समेत फेला नपर्दा साह्रै चिन्ता लागेको भनी अनलालले चिन्ता प्रकट गरे।
“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ”, रोकायले भने, “डीएनए परीक्षण रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असैह्य पीडाबिच विछोडको भारी थाम्न विवश छौँ।”
शव पहिचानको लागि डीएनए परीक्षणको लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उनले बताए। रोकायले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणको लागि नमूना दिएका छन्।

डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार समेत गर्न नसकेको बताउँदै उनले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिको वारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्ने विचार प्रकट गरे।
त्यस्तै रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभरजसो नै आमाबुबा फर्किने बाटो हेर्दै बिताउने गरेका छन्। रोकायजस्तै उनीहरुले पनि डीएनए रिपोर्टको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिए।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताए। उनले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताए।
बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडाैँस्थित अस्पतालमा तथा १६ जनाले भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
डीएनए परीक्षणको लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
बाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म बेपत्ता छन्। हालसम्म तीनजनाको शव सनाखत भई मृत्युको घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।