सुचना, समाचार र मनोरन्जन

मल्टिस्टार ‘द राइज अफ साम्राज्य’मा सुशीलको इन्ट्री

काठमाडौं :

निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन्। छायांकनको अन्तिम तयारीमा रहेको चलचित्रमा निर्देशक चौधरीले सुशीललाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका हुन्।

यसअघि नै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन्। सुशिलको प्रवेशसँगै चलचित्रको कलाकारको लाइनअप थप बलियो बनेको छ। निर्माण पक्षका अनुसार चलचित्रमा अधिकांश कलाकारको भूमिका महत्वपूर्ण रहनेछ।

Gandarbha

निर्देशक सौरभ चौधरीले सुशीलले चलचित्रमा मुख्यमध्ये एक भूमिकामा अभिनय गर्ने जानकारी दिएका छन्। यसअघि फरक–फरक शैलीका चलचित्रमा काम गर्दै आएका सुशिलका लागि ‘द राइज अफ साम्राज्य’को भूमिका नयाँ चुनौती बन्ने अपेक्षा गरिएको छ। निर्माण टिमले चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तयार पारेको छ। चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ। कथा र परिवेशअनुसार आवश्यक लोकेसन छनोटको काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
यो नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ।

निर्देशक चौधरीले यसपटक आफूले यसअघि निर्माण गरेका चलचित्रभन्दा ठूलो क्यानभास र फरक स्तरको प्रस्तुति दिने योजना बनाएका छन्। निर्माण पक्षले चलचित्रलाई नेपाली चलचित्रमै ठूलो स्केलमा बन्न लागेको ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरेको छ। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। साहित्यिक लेखनमा छुट्टै पहिचान बनाएका बुद्धिसागरको कथा तथा पटकथामा निर्माण हुने भएकाले चलचित्रको कथावस्तुलाई लिएर पनि चासो बढेको छ।

चलचित्रमा निर्देशक सौरभ चौधरीले एक्सन, ड्रामा र कथानकलाई ठूलो स्केलमा प्रस्तुत गर्ने तयारी गरेका छन् । निर्माण पक्षले यसलाई नेपाली चलचित्रको एक्सन विधामा नयाँ स्तरको अनुभव दिने लक्ष्यसहित अघि बढाइएको जनाएको छ। चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मेवारी श्री श्रेष्ठले सम्हाल्नेछन्। ठूलो स्केलको एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको चलचित्रमा एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेको छ। चलचित्रको वितरणको जिम्मेवारी डिसीएनले लिएको छ। कलाकारको बलियो लाइनअप, बुद्धिसागरको कथा–पटकथा, लामो छायांकन तालिका र ठूलो क्यानभासका कारण ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.