सुचना, समाचार र मनोरन्जन

फिर्केखोला करिडोरको काम अघि बढाउँदै महानगर, ७ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी

पोखरा,

पोखराको फिर्केखोला संरक्षण तथा करिडोर निर्माणको काम अघि बढाउने तयारीसँगै पोखरा महानगरपालिकाले खोलाको बहाव क्षेत्रभित्र रहेका अनधिकृत संरचना हटाउन पुनः अन्तिम ताकेता गरेको छ।

अधेरीकुनादेखि फेवातालसम्म फैलिएको करिब ८ किलोमिटर फिर्केखोलाको खोलाघरमा रहेका बाँकी संरचना सात दिनभित्र अनिवार्य रूपमा हटाउन महानगरले असोज ५ गते सूचना जारी गरेको हो।

महानगरले यसअघि भदौ १५ गतेसम्म संरचना आफैँ हटाउन समय दिएको थियो। तर भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्ति र त्यसपछिको निरन्तर वर्षाका कारण संरचना हटाउने काम प्रभावित भएको जनाएको छ।

महानगरका अनुसार यसअघि सूचना जारी भएपछि खोलाको बहाव क्षेत्रमा रहेका अधिकांश संरचना हटाइसकिएका छन्। केही संरचना धनीले आफैँ भत्काउने प्रतिबद्धता जनाउँदै थप समय मागेका थिए।

Gandarbha

हाल खोलाको बहाव क्षेत्रमा रहेका १ सय ६० संरचनामध्ये ५८ वटा पूर्ण रूपमा हटाउन बाँकी छन्। बाँकीमध्ये २९ वटा संरचना घरधनी आफैँले भत्काउन सुरु गरेका छन् भने २२ वटा संरचनामा अहिलेसम्म कुनै काम भएको छैन।

हटाउन बाँकी संरचनामा २५ वटा स्थायी, २६ वटा अस्थायी संरचना र पाँचवटा कम्पाउन्ड वाल रहेका छन्। यसअघि ३३ वटा संरचना भने हटाइसकिएको महानगरले जनाएको छ।

महानगरले तोकेको सात दिनभित्र संरचना नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने चेतावनी दिएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने महानगरको भनाइ छ।

फिर्केखोलालाई अतिक्रमणमुक्त बनाएर करिडोर निर्माण गर्ने योजनाअनुसार अब प्राविधिक टोलीसहितको काम अघि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताएका छन्।“तोकिएको मितिभित्र संरचना नहटाए महानगरले कानुनबमोजिम हटाउँछ र त्यसमा लाग्ने खर्च सम्बन्धितबाटै असुलउपर गर्छ।” आचार्यले भने ।

महानगरले फिर्केखोलालाई संरक्षण गर्दै पैदलमार्ग, हरियाली तथा सहरी पूर्वाधारसहितको करिडोर निर्माण गर्ने योजना अघि सारेको छ। त्यसका लागि खोलाको वास्तविक बहाव क्षेत्र खाली गराउने कामलाई पहिलो चरणका रूपमा अघि बढाइएको हो।

Leave A Reply

Your email address will not be published.