म्याग्दी : उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षा गर्दै रात बित्छ ।
रोजगारीको खोजीमा एक वर्ष खाडीमुलुक कुवेत पुगेका तिलिजालाई विदेशको बसाइँ लामो समय मन परेन् । जन्मथलो फर्किएपछि उनले २० वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे । त्यसपछि पछिल्लो आठ वर्षदेखि भने उनको जीवन भेडाबाख्राको गोठसँग जोडिएको छ ।
“विदेशमा गएर पनि दुःख गर्नुपर्ने रहेछ । आफ्नै ठाउँमा केही गर्न सकिन्छ भने किन विदेश जानु भन्ने लाग्यो”, तिलिजाले भने, “उमेरले साथ दिउन्जेल यही काम गर्छु ।”
गोठका १५ वटा भैँसी कास्कीको पूर्णगाउँका व्यापारीले खरिद गरेपछि उहाँसँग रोजगारीको विकल्प फेरि खडा भयो । बुढेसकालमा घरमै फुर्सदिलो भएर बस्न मनले नमानेपछि आफन्त लालवीर तिलिजासँगै घुम्ती भेडा गोठमा बस्न थाल्नुभयो । अरुको गोठमा बसेर सुरु गरेको भेडापालन अहिले आफ्नै व्यवसाय बनेको छ ।
हाल उनको साथमा करिब २०० भेडाबाख्रा छन् । जनैपूर्णिमा पर्वमा मात्रै ५० वटा बोका तथा साँड बिक्री गरे । करिब छ महिना पालेको भेडाको साँड रु १५ देखि रु २२ हजारसम्म बिक्री हुन्छ भने दुई वर्ष पुगेको साँडको मूल्य रु ३० देखि रु ३५ हजारसम्म पर्छ ।
भेडाबाख्राको बिक्रीबाट हुने आम्दानीले उहाँको घरव्यवहार चलेको छ । छोराछोरीको पढाइदेखि दैनिक आवश्यकताको खर्च यही व्यवसायले धानेको छ ।
लेकदेखि बेँसीको यात्रा
घुम्तीगोठको जीवन एउटै ठाउँमा बित्दैन । मौसमसँगै गोठ राख्ने ठाउँ पनि फेरिन्छ । हिउँदमा तिलिजा पाउद्वार, शिख, घार, नारच्याङ हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म भेडाबाख्रा चराउन पुग्छन् । बर्खामा भने उहाँको गोठ करिब चार हजार मिटर उचाइको खयर खोलासम्म पुग्छ ।
लेकमा हरियालीसँगै भेडाबाख्राका लागि पर्याप्त चरन पाइन्छ । तर वर्षायामको झरी, बादल, चिसो र एकान्त घुम्ती गोठको जीवन सहज भने छैन । “बर्खामा तीन–चार महिना झरी बादलमै बस्नुपर्छ । घरपरिवार र आफन्तसँग भेटघाट हुँदैन”, उनले भने, “गोठमा बस्न आवश्यक सबै सामान बोकेरै जानुपर्छ ।”
चिसो बढ्न थालेपछि भेडाबाख्राको गोठ बेँसीतिर झारिन्छ । मौसमअनुसार चरन क्षेत्र परिवर्तन गर्नु घुम्ती पशुपालनको पुरानो परम्परा भए पनि यसले गोठालाको जीवनलाई निरन्तर यात्रामै राख्छ । तिलिजाको अनुभवमा भैँसीपालनको तुलनामा भेडाबाख्रा पाल्न सजिलो छ । भेडाबाख्राबाट छिटो आम्दानी लिन सकिने भएकाले पनि उनी यस व्यवसायमा सन्तुष्ट छन् ।
गोठको पहरेदार
घुम्ती गोठमा पशुधनको सुरक्षा अर्को ठूलो चुनौती हो । बस्तीभन्दा टाढा, जङ्गल र लेकाली क्षेत्रमा बस्नुपर्ने भएकाले चितुवा, ब्वाँसोलगायतका जङ्गली जनावरको जोखिम हुन्छ । त्यसैले तिलिजाको गोठमा भेडाबाख्रासँगै चार वटा कुकुर पनि छन् ।

दिउँसो भेडाबाख्रा चरनमा गएका बेला कुकुरले उनीहरूको रेखदेख गर्छन् । राति भने गोठ वरिपरि घुमेर पहरा दिन्छन् । चितुवा वा ब्वाँसो देखेमा भुकेर सङ्केत गर्ने र कतिपय अवस्थामा जङ्गली जनावरसँगै भिडेर पनि पशुधन जोगाउने गरेको तिलिजा बताउँछन् । “कुकुर नभए गोठमा भेडाबाख्रा जोगाउन गाह्रो हुन्छ”, उनले भने, “रातभर गोठको पहरा उनीहरूले नै दिन्छन् ।”
चट्याङले दिएको पीडा
घुम्तीगोठको जीवनमा खुसी मात्रै छैन, पीडा पनि छ । दुई वर्षअघि चट्याङ पर्दा तिलिजाले एकैपटक ६० वटा भेडाबाख्रा गुमाए । वर्षौंको मेहनतले हुर्काएका भेडाबाख्रा एकैछिनमा गुमाउँदा उनलाई ठूलो पीडा भयो । व्यवसाय नै छाडौँजस्तो लाग्ने अवस्था आए पनि उनले हार मानेनन् ।
त्यही क्षतिपछि फेरि भेडाबाख्रा थप्दै व्यवसायलाई निरन्तरता दिए । अहिले उनी पुरानै अवस्थामा फर्किएका छन् । “एकैपटक धेरै पशु मर्दा निकै दुःख लाग्यो । तर दुःख लाग्यो भनेर छाडेर बस्न सकिएन”, उनले भने, “फेरि थप्दै गएँ, अहिले पहिले जस्तै भएको छ ।”
घुम्तीगोठमा चुनौतीको चाङ
पछिल्लो समय घुम्तीगोठमा भेडाबाख्रा पाल्ने किसानले नयाँनयाँ चुनौती सामना गर्नुपरेको तिलिजाको अनुभव छ ।
हिउँदमा बेँसी क्षेत्रमा चितुवालगायत जङ्गली जनावरको आक्रमणको जोखिम हुन्छ । बर्खामा लेकाली क्षेत्रमा विषालु घाँसका कारण पशुचौपाया जोखिममा पर्ने गर्छन् । त्यसमाथि घुम्ती गोठमा काम गर्ने मजदुर पाउन कठिन हुँदै गएको छ ।
गोठालाको काममा युवापुस्ताको आकर्षण घट्दै जाँदा पुराना पुस्ताका पशुपालकलाई थप भार परेको छ । लामो समय परिवारबाट टाढा बस्नुपर्ने, मौसमको प्रतिकूलता सहनुपर्ने र पशुधनको सुरक्षाको जिम्मेवारी आफैँले लिनुपर्ने भएकाले घुम्ती गोठको जीवन सहज छैन । तर यी कठिनाइले तिलिजाको गोठप्रतिको मोह घटेको छैन ।
‘शरीरले साथ दिएसम्म यही गर्छु’
औपचारिक शिक्षा नपाएका तिलिजाले रोजगारीका लागि विदेशको बाटो रोजे । कुवेतमा काम गर्दा भोगेको दुःखले उनलाई आफ्नै गाउँ फर्कायो । स्वदेशमा जागिरको अवसर नपाएपछि उनले पुख्र्यौली जीवनशैलीसँग जोडिएको घुम्ती पशुपालनलाई रोजे ।
आज यही गोठ उनका लागि रोजगारी मात्रै होइन, आत्मनिर्भर जीवनको आधार बनेको छ । “शिक्षा नभएकाले विदेशमा काम गर्न दुःख भयो । यहाँ जागिर पनि पाइएन”, उनले भने, “त्यसपछि पशुपालनलाई नै जीविकोपार्जनको माध्यम बनाएँ ।”
भेडाबाख्राको हुल, लेकाली चरन, घुम्तीगोठ र पहरेदार कुकुरसँगै बितेको जीवनमा तिलिजाले आफ्नो छुट्टै संसार बनाएका छन् । कहिले चार हजार मिटर उचाइको खयर खोलामा, कहिले बेँसीका फाँटमा पुग्ने उनको जीवन मौसमसँगै चल्छ ।
उमेर बढ्दै गए पनि गोठ छाड्ने उनको योजना छैन । “शरीरले साथ दिएसम्म भेडापालन गर्छु”, तिलिजा भन्छन् । बस्तीबाट टाढा, कहिले झरीमा, कहिले चिसोमा र कहिले जङ्गली जनावरको डरबीच बित्ने घुम्तीगोठको जीवन धेरैका लागि कठिन हुन सक्छ । तर टीकाजीतका लागि त्यही गोठ रोजगारी हो, आत्मनिर्भरता हो र जीवनप्रतिको मोह पनि ।