पोखरा,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ (क) को प्रदेश सभा क्षेत्रीय सभापति पदमा अर्जुन पोखरेलले उम्मेदवारी प्रस्तुत गरेका छन्।
विद्यार्थी राजनीतिदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पोखरेलले पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्दै आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै आएका छन्। उनी यसअघि कास्की–२ (क) बाट प्रदेश सभा सदस्यका आकांक्षीका रूपमा समेत चर्चामा आएका थिए।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका पोखरेलले यसपटक पार्टी संगठनलाई थप सुदृढ, गतिशील र कार्यकर्तामुखी बनाउने उद्देश्यसहित प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका पोखरेलले क्षेत्रीय संगठनको नेतृत्वमा जाने आफ्नो निर्णयलाई पद प्राप्तिभन्दा पनि संगठनप्रतिको जिम्मेवारीका रूपमा प्रस्तुत गरेका छन्। पार्टीको आधार तहलाई बलियो बनाउँदै कार्यकर्ता र नेतृत्वबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।
पोखरेलले अग्रज नेताहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवा पुस्ताको ऊर्जा, नयाँ सोच र सक्रियतालाई संगठनसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। आपसी सम्मान, सहकार्य र संगठनप्रतिको इमान्दारितालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन्।
उम्मेदवारी प्रस्तुत गर्दै पोखरेलले क्षेत्रीय प्रतिनिधिहरूसँग विश्वास र समर्थनको आग्रह गरेका छन्। उनले पार्टीको गरिमा र कार्यकर्ताले गरेको भरोसालाई इमान्दारिताका साथ जोगाउँदै संगठनका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
१५औँ महाधिवेशनको प्रक्रियासँगै कास्कीका विभिन्न तहमा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने क्रम बढेको छ। पोखरेलले आफ्नो उम्मेदवारीलाई संगठनमा अनुभव र युवा पुस्ताको ऊर्जाबीच समन्वय गर्दै पार्टीलाई थप सक्रिय र सुदृढ बनाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।