पोखरा,
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदका लागि बौद्धिक, निष्ठावान् एवं अनुभवी नेता ई. रामबहादुर के.सीले आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। “काँग्रेस नवनिर्माणका लागि यहाँहरूको मत र मनको कदर गर्ने विश्वास दिलाउँछु” भन्ने दृढ प्रतिबद्धताका साथ उनी निर्वाचन प्रक्रियामा होमिएका हुन् ।
वि.सं. २००६ सालमा रुपा गाउँपालिका पोल्याङमा जन्मिएका ई.रामबहादुर के.सी. कास्की काँग्रेसभित्र एक बौद्धिक र प्राविधिक व्यक्तित्वका रूपमा स्थापित छन्। वि.सं २०२४ को आई.एससी परीक्षामा बोर्ड सातौँ भई शिक्षा मन्त्रालयको ६ वर्षे छात्रवृत्तिमा रसियाको प्रतिष्ठित मस्को युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङमा एम.एससी सम्पन्न गरेका उनले वि.सं. २०३१ सालमा सडक विभागबाट सरकारी सेवा आरम्भ गरेका थिए । बहुदलको प्रचारप्रसार र प्रजातान्त्रिक विचार प्रवाहमा संलग्न भएको अभियोगमा पञ्चायती शासकहरूले स्पष्टीकरण सोधेपछि उनले निर्भीकताका साथ सरकारी पदबाट राजीनामा दिएका थिए। त्यसपछि लामो समय इन्जिनियरिङ कन्सल्टेन्सी र नाथुममा प्राध्यापन गर्दै उनले लोकतान्त्रिक आन्दोलन र राजनीतिमा आफूलाई निरन्तर क्रियाशील राखे ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै ई. रामबहादुर के.सी.ले भने, “काँग्रेस नवनिर्माणको यो ऐतिहासिक घडीमा म संगठनलाई थप सुदृढ, गतिशील, एकताबद्ध र कार्यकर्तामुखी बनाउन प्रतिबद्ध छु। अग्रज, साथीभाइ, शुभेच्छुक तथा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूले मप्रति व्यक्त गर्नुभएको भरोसा र विश्वासलाई इमान्दारिताका साथ जोगाउनेछु। यहाँहरूको अमूल्य मत र मनको सदैव उच्च कदर गर्ने विश्वास दिलाउँछु।”

वि.सं २०३६ सालको जनमत संग्रहदेखि नै नेपाली काँग्रेसमा निरन्तर क्रियाशील रहेका के.सी. पार्टीका एक वफादार र समर्पित सिपाही हुन्। वि.सं. २०५६ सालमा कास्की १ बाट ९ औँ महाधिवेशन प्रतिनिधि चुनिएका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल विभागीय संयोजक रहेको नेपाली काँग्रेसको केन्द्रीय अर्थ समितिको सदस्यका रूपमा समेत जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रखर हिमायती के.सी. कास्की काँग्रेसमा पटक–पटक अवसरबाट वञ्चित भए तापनि विचलित नभई निरन्तर पार्टी सेवामा समर्पित रहने एक सज्जन र निष्ठावान् नेताका रूपमा चिनिन्छन्।
उमेरले परिपक्व भए पनि युवा जोशका साथ इमानको राजनीति गर्दै आएका के.सी.ले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको माध्यम नभई संगठन सुदृढीकरण र नवनिर्माणको अभियानका रूपमा प्रस्तुत गरेका छन् । अग्रज नेताहरूको त्याग, अनुभव र मार्गदर्शनको सम्मान गर्दै युवा पुस्ताको ऊर्जा, नयाँ सोच र सक्रियतालाई काँग्रेस संगठनसँग जोडेर अगाडि बढाउने उनको अठोट छ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै ई. रामबहादुर के.सी.ले भने, “काँग्रेस नवनिर्माणको यो ऐतिहासिक घडीमा म संगठनलाई थप सुदृढ, गतिशील, एकताबद्ध र कार्यकर्तामुखी बनाउन प्रतिबद्ध छु। अग्रज, साथीभाइ, शुभेच्छुक तथा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूले मप्रति व्यक्त गर्नुभएको भरोसा र विश्वासलाई इमान्दारिताका साथ जोगाउनेछु। यहाँहरूको अमूल्य मत र मनको सदैव उच्च कदर गर्ने विश्वास दिलाउँछु।”
इमान्दारिता, प्राज्ञिक दक्षता र निष्ठाको पर्याय बनेका ई. रामबहादुर के.सी. लाई १५ औँ महाधिवेशनमा विजयी गराई काँग्रेस सुदृढीकरणको अभियानमा साथ दिन कास्की क्षेत्र नं. १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूमा उनले हार्दिक अपिल गरेका छन् ।