सुचना, समाचार र मनोरन्जन

कास्की कांग्रेसमा कमला गिरीको दाबी: सामाजिक र व्यावसायिक अनुभव संगठन हितमा लगाउने संकल्प

काठमाडौँ :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ (ख) बाट महिला प्रदेश प्रतिनिधि पदमा कमला गिरीले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन्। पोखरा महानगरपालिका-५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गिरीले आफूले हासिल गरेको लामो सामाजिक तथा व्यावसायिक अनुभवलाई पार्टीको जिम्मेवारीसँग जोड्दै महाधिवेशनमा प्रतिनिधित्वका लागि उम्मेद्वारी दिएकी हुन्। उनले आफ्नो उम्मेद्वारी पदप्राप्तिका लागि मात्र नभई संगठनको सर्वोपरी हितका लागि अनुभव उपयोग गर्ने संकल्पका रूपमा प्रस्तुत गरेकी छन्।

बागलुङको बलेवामा जन्मिएकी गिरीले १२ वर्ष मेडिकल क्षेत्रमा काम गरेपछि पछिल्लो १५ वर्षदेखि पर्यटन व्यवसायमा निरन्तर योगदान दिँदै आएकी छन्। मेट्रो इन टूर एन्ड ट्राभलकी प्रबन्ध निर्देशक गिरी सुमी मनी चेन्जर, सोभिनियर सप तथा स्पा एकेडेमीजस्ता उद्यमहरूमा समेत संलग्न छिन्।

व्यवसायका साथसाथै संस्थागत नेतृत्वमा समेत गिरीको दरिलो उपस्थिति रहेको छ। उनी टेवान पोखरा र रोटरी क्लब अफ पोखराकी निवर्तमान अध्यक्ष हुनुका साथै बागलुङ बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष हुन्। नाट्टा गण्डकीमा सदस्यबाट यात्रा सुरु गरी सचिव, महासचिव हुँदै द्वितीय उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी उनले नाट्टा गण्डकीको अध्यक्ष पदमा समेत प्रतिस्पर्धा गरिसकेकी छन्।

सार्वजनिक जीवनमा प्रखर वक्ताका रूपमा परिचित गिरी आफ्ना धारणा स्पष्ट रूपमा राख्ने र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। पर्यटन तथा सामाजिक क्षेत्रमा दिएको योगदानबापत विभिन्न पुरस्कार एवं सम्मानबाट विभूषित गिरीको यो बहुआयामिक अनुभवलाई राजनीतिक यात्राको बलियो आधारका रूपमा हेरिएको छ।

कास्की क्षेत्र नं. ३ (ख) मा हुने प्रदेश प्रतिनिधिको प्रतिस्पर्धामा प्रतिनिधिहरूले उम्मेदवारको राजनीतिक संलग्नता, संगठनात्मक अनुभव र सार्वजनिक भूमिकाको मूल्याङ्कन गरी प्रतिनिधि छनोट गर्ने अपेक्षा गरिएको छ। गिरीको यो उम्मेद्वारीलाई पर्यटन र सामाजिक क्षेत्रको लामो अनुभवलाई नेपाली कांग्रेसको संगठनात्मक सुदृढीकरणमा जोड्ने एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.