सुचना, समाचार र मनोरन्जन

अस्करमा छनोट ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) : हात्तीको कथामा मानिसभित्रको ‘जंगल’

पोखरा,

नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स अर्थात् अस्करको बेस्ट इन्टरनेसनल फिचर फिल्म विधाका लागि नेपालको आधिकारिक छनोटमा परेको छ।

अस्करसम्म पुगेको यो चलचित्र सोमबार पोखराको मिडटाउन गेरिल्लामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित विभिन्न संघसंस्थामा आबद्ध विशिष्ट व्यक्तित्व तथा पत्रकारहरूले समेत अवलोकन गरेका छन्।

चलचित्र अवलोकनपछि मेयर धनराज आचार्यले ‘तिनीहरू’ आफूलाई छुट्टै कथा, संवेदनशील विषयवस्तु र शक्तिशाली अन्त्य भएको चलचित्र लागेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार चलचित्रले मानिस र हात्तीबीचको सम्बन्धलाई निकै अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ।

हामी हात्तीलाई गणेशका रूपमा पूजा गर्छौँ, तर आफ्नो स्वार्थअनुसार त्यही हात्तीलाई लखेट्ने र नियन्त्रण गर्ने गर्छौँ। तालिम र इसारामा चल्ने हात्तीले कुरा नमिल्दा त्यही शक्तिबाट प्रतिकार गर्न सक्छ। मानिस र हात्तीबीचको यही जटिल सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको छ।

चलचित्रले हात्तीको कथामार्फत मानिसभित्र लुकेको प्रवृत्ति र ‘जंगल’लाई समेत उजागर गरेको देखिन्छ। जंगली जनावरलाई ‘जंगली’ भन्ने मानिस आफ्नै स्वार्थ, पूर्वाग्रह, सोच र व्यवहार नियन्त्रण गर्न नसक्ने विडम्बनातर्फ चलचित्रले प्रश्न उठाउँछ।

रुखको पछाडि छेल पर्दैमा हात्तीले आफूलाई लुकेको ठानेजस्तै मानिसले पनि आफूले नदेखेको कुरा संसारले देखेको छैन भन्ने भ्रम पाल्ने गर्छ। चलचित्रले भने प्रश्न गर्छ-म अरूको नजरबाट लुकेको छु कि वास्तवमा अरूको नजरमा अझ स्पष्ट छु?

हामीले लुकाएको ठानेका कुरा हाम्रो व्यवहार, सोच र कर्मबाट संसारले धेरै पहिल्यै देखिरहेको हुन सक्छ। चलचित्रको अन्त्यले यही सत्यलाई शक्तिशाली रूपमा स्थापित गरेको आचार्यको अनुभव छ।

चलचित्रले मातृत्व र मानवीय सम्बन्धको पक्षलाई पनि फरक ढंगले प्रस्तुत गरेको छ। आफ्नै सन्तान र आफूलाई जन्म दिने बाबुआमालाई समेत अलपत्र पार्ने सामाजिक यथार्थबीच आफूले नजन्माएको तर अपनाएको सन्तानप्रति देखाइएको अगाध माया र स्नेहले दर्शकलाई भावुक बनाउँछ। यसले आमाको प्रेम र मातृत्वको अर्थलाई नयाँ कोणबाट प्रस्तुत गरेको छ।

त्यस्तै, समाजका सीमान्तकृत समुदायप्रतिको व्यवहारमाथि पनि चलचित्रले गम्भीर प्रश्न उठाएको छ। समाजमा तेस्रोलिङ्गीप्रति गरिने व्यवहार, जिविकोपार्जनको लागि उनीहरुले रोज्ने सम्वेदनशील पेशा, र्दुव्यवहारलाई चलचित्रमा देखाइएको छ । मानव भएर जन्मिँदा कसैले आफ्नो परिवार, लिङ्ग वा देश रोजेर जन्मिँदैन। तर समाजले बनाएका विभेद र पूर्वाग्रहका कारण केही समुदाय अझै अपमान र बहिष्करणको सामना गरिरहेका छन्।

यही सन्दर्भमा चलचित्रमा सीमान्तकृत समुदायको एक पात्रप्रति हात्तीले देखाएको माया, करुणा र संरक्षणले गम्भीर प्रश्न उठाउँछ-मानिस भएर हामीले एक-अर्काप्रति देखाउनुपर्ने करुणा र माया कहाँ हराउँदैछ?

चलचित्रले मनोरञ्जनसँगै समानता, मानवता, करुणा र प्रकृतिसँगको सम्बन्धबारे दर्शकलाई सोच्न बाध्य बनाउँछ। फ्रान्समा चलचित्र प्रदर्शनपछि दर्शकहरूले करिब सात मिनेट उभिएर ताली बजाएको प्रसङ्गसमेत उल्लेख गर्दै आचार्यले चलचित्रको कथावस्तुले अन्तर्राष्ट्रिय दर्शकलाई समेत गहिरोसँग छोएको अनुभव सुनाएका छन्।

‘एलिफेन्ट्स इन द फग’ ले नेपाली चलचित्रलाई पर्यटनसँग जोड्ने सम्भावनालाई समेत देखाएको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताएका छन । “नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, जीवनशैली, मौलिकता र नेपाली समाजका कथालाई विश्व दर्शकमाझ पुर्‍याउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ”, उनले भने ।

एउटा राम्रो चलचित्रले विश्वका दर्शकलाई नेपालबारे जान्न, नेपाल हेर्न र नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ। त्यसैले नेपाली चलचित्र उद्योग र पर्यटन क्षेत्रलाई सँगसँगै अघि बढाउन सके विश्व पर्यटन बजारमा नेपालको परिचय अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिने सम्भावना छ।

समग्रमा ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ हात्तीको कथा मात्र होइन, मानिसभित्र लुकेको ‘जंगल’, सामाजिक विभेद, मातृत्व, करुणा र मानवीय सम्बन्धको कथा पनि हो। चलचित्रले दर्शकलाई पर्दामा देखिएको कथाभन्दा पर पुगेर आफ्नै सोच, व्यवहार र समाजलाई पुनः हेर्न बाध्य बनाउँछ।

अन्ततः चलचित्रले दिने सन्देश स्पष्ट छ-आफूलाई संसारबाट लुकाउन सकिन्छ भन्ने भ्रमभन्दा ठूलो भ्रम अरू केही हुँदैन। सत्य र मानवता अन्ततः सबैभन्दा शक्तिशाली हुन्छन्।

Leave A Reply

Your email address will not be published.