तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका-१३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेसाबारीमा बित्छ। हातमा कोदालो बोकेर उनी बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिन्छन्। उमेरले सात दशक नाघिसक्दा पनि उनको कृषिप्रतिको मोह भने घटेको छैन।
आफू १६ वर्ष हुँदा तरकारीखेती सुरु गरेका सुन्दरलाल विगत पाँच दशकभन्दा लामो समयदेखि माटोसँग खेल्दै आए। ‘खेतीपाती मेरो जीवनको अभिन्न अंग बनिसक्यो’, उनले भने। उनको यो निरन्तरताले केवल घरको छाक मात्र टारेको छैन, तरकारीखेतीकै कमाइबाट दुई वटा गाडीसमेत किन्न सफल बनाएको छ। घरमै गाडी भएपछि उनका तीन छोराहरूले गाडी चलाउन सिकेपछि उहाँहरूलाई पनि आत्ननिर्भर हुन सहज भएको छ।
सुन्दरलालको करिब डेढ बिघा जग्गामध्ये १० कट्ठामा व्यावसायिक तरकारीखेती भइरहेको छ। उनको बारीमा सिजनअनुसारका काँक्रो, लौका, फर्सी, भान्टा, करेला, गोलभेँडा, खुर्सानीलगायतका तरकारीखेती हुने गर्छन्। तरकारी र फलफूलखेतीबाटै उनले वार्षिक एक लाख ५० हजार रूपैयाँदेखि दुई लाखसम्म आम्दानी गर्दै आएको बताए।
त्यस्तै, कडा परिश्रम र निरन्तरता दिने हो भने माटोमै सुन फलाउन सकिन्छ भन्ने अर्को गतिलो उदाहरण बनेका छन्, तुलसीपुर-१३ बखरियाकै नवराज रावत। उनले पनि विगत १९ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडाखेती गर्दै आएका छन्।
२०६४ सालदेखि निरन्तर रुपमा उनी गोलभेँडाखेतीमा व्यस्त छन्। घरबाट अंशबन्डा हुँदा आठ कट्ठा जग्गा भाग परेको थियो। त्यही जग्गाबाट गोलभेँडाखेतीमा लागेका उनी अहिले डेढ बिघा जग्गामा तरकारीखेती गर्छन्। त्यो जग्गा पनि तरकारीखेतीबाटै जोडेको उनी बताउँछन्। ‘सुरुमा मेरो आठ कट्ठा मात्रै थियो, त्यही जग्गाबाट तरकारीखेती सुरु गरेँ’, उनले भने, ‘त्यसबेला केही जग्गा भाडामा लिएर पनि खेती गरेँ, अहिले डेढ विघा जग्गासमेत जोड्न सफल भएको छु।’
त्यतिमात्रै होइन, गोलभेँडाखेती गरेरै रावतले बखरियामा एक करोड रूपैयाँभन्दा बढी खर्च गरेर पक्की घरसमेत बनाएका छन्। उनले मासिक एक लाख रूपैयाँभन्दा बढी गोलभेँडोतीबाटै आम्दानी गर्दै आएको उनी बताउँछन्। रावतले उत्पादन गरेको गोलभेँडा अहिले दाङमा मात्र सीमित छैनन्। सुर्खेत र बुटवलसम्मका बजारमा पुग्ने गरेको छ। पछिल्लो समय नजिकैको शीतलपुरमा हाटबजार निर्माण भएपछि बजारीकरणमा थप सहज भएको उनी बताउँछन्।
उनको फार्ममा अहिले १२ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। बखरिया क्षेत्र तरकारी उत्पादनका हिसाबले उत्तम क्षेत्र हो। जहाँ अन्य किसानहरूसहित गरी ४५ बिघाभन्दा बढी क्षेत्रफलमा यसरी तरकारीखेती हुने गरेको छ।
तरकारीखेतीमै रमाउनेमा तुलसीपुर उपमहानगरपालिका-१६ रत्गै निवासी सुनिता चौधरी पनि छिन्। करिब तीन वर्षअघि तरकारीखेतीसम्बन्धी तालिम लिएपछि निरन्तर यही पेसामा आबद्ध भएर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनी बताउँछिन्।
आठ कट्ठा क्षेत्रफलमा गोलभेँडा, बोडी, भिन्डीलगायतका तरकारी उत्पादन गरेर आफै बजारसम्म लैजाने गरेको उनले यो पेसाले आफूलाई सन्तुष्ट बनाएको बताइन्। ‘म एकल महिला पनि हुँ, समय बिताउन गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘दिनभर तरकारीखेतीमै व्यस्त हुन्छु, बिहान आफै छिटुवामा बोकेर बजारसम्म लैजान्छु, समय बिताउन निकै सहज भएको छ, आम्दानी पनि उत्तिकै छ।’
सुनिताजस्तै खेतीमा व्यस्त छिन् तुलसीपुर उपमहानगरपालिका-१३ बखरियाकी सुलोचना शेर्पा। कुनैबेला टिकटक, फेसबुकमा दिन बिताउने उनले अहिले घरआँगनसँगै जोडिएको ११ कट्ठा जग्गामा कागतीखेती गरेकी छिन्। युट्युबबाटै सिकेर उनी यसरी तरकारीखेतीमा व्यस्त भएकी हुन्। ‘मैले युट्युब हेरेर कागतीखेतीका बारेमा धेरै जानकारी पाएँ’, उनले भनिन्, ‘त्यसले गर्दा नै अहिले कागतीखेती गरिरहेकी छु।’
पाँच वर्षदेखि उनी यसै खेतीमा निरन्तर व्यस्त छिन्। आफ्नो बारीमा तीन सय वटा कागतीका बिरुवा रोपेकी सुलोचनाले गएको वर्षबाट राम्रो प्रतिफल पाउन थालेकी छिन्। गतवर्ष सबै खर्च कटाएर डेढ लाख रूपैयाँ आम्दानी गर्न उनी सफल भएकी थिइन्।
तुलसीपुर-११, मोतिपुरकै किसान यज्ञ खत्रीको तरकारीखेतीमा फरक अनुभव छ। उनले तरकारीखेती सुरु गरेको २२ वर्षभन्दा बढी भयो। जतिबेला घरमा खानका लागि पर्याप्त तरकारीसमेत हुँदैनथ्यो। बालबच्चालाई कसरी पढाउने र उनीहरूको भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले उनलाई सताउने गर्थ्यो। ‘पहिले त खाने तरकारीसमेत हुँदैनथ्यो, बालबच्चा कसरी पढाउने भन्ने पिर हुन्थ्यो’, उनले भने, ‘जब तरकारीखेती गरेँ, त्यसपछि जीवन धान्न निकै सहज भयो।’
हाल उनले डेढ विघामा कृषि खेती गरेका छन्। ‘छोराछोरीले राम्रो स्कुल पढ्न पाएका छन्, तरकारीखेती गरेर पक्की घर बनेका छन्’, उनले भने, ‘तरकारी खेतीले निकै सहज बनाएको छ।’ उनका अनुसार सोही ठाउँमा तरकारी खेती गरेरै धेरै किसानको जीवनस्तर सुधार भएको छ।
समुदायलाई अर्गानिकमा जोड्दै
दाङको तुलसीपुर उपमहानगरपालिका-१६, रत्गैका विनोद चौधरी भने तरकारीखेतीमा मात्रै व्यस्त हुँदैनन्, उनले अर्गानिक कृषिखेतीको नेतृत्वसमेत गरिरहेका छन्। वर्षौँदेखि दुई बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्दै आएका उनले पछिल्लो समय पाँच कट्ठामा अर्गानिक खेतीको अभ्यास सुरु गरेका छन् भने गाउँका अन्य १० किसानलाई समेत समेटेर अर्गानिक कृषिमा आबद्ध गराएका छन्।
उनले ‘मिलीजुली कृषक समूह’ गठन गरेर अर्गानिकरुपमा गोलभेँडा, काँक्रा, बोडी, सिमी, लौका, करेलालगायतका तरकारी फलाउँदै आएका छन्। ‘हामीले समूह नै बनाएर अर्गानिक खेती सुरु गरेका छौँ’, उनले भने, ‘अहिले १० जना किसान यसमा आबद्ध छौँ।’
अहिले रासायनिक मलको साटो गड्यौला मल, झोल मल र गोबर मल प्रयोग गर्ने गरेको उनले बताए। उनी आफै गड्यौला पालेर प्रतिकिलो १२ सय रूपैयाँमा गड्यौला र प्रतिगोटा ३० रूपैयाँमा किनबेचसमेत गर्छन्।
यस्तै, अर्गानिक खेतीको अभियानमा छन् -तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरका दीपक चौधरी। विगत १२ वर्षदेखि निरन्तर तरकारीखेतीमा रमाएका चौधरी भन्छन्, ‘सुरुवाती वर्षहरूमा रासायनिक मलकै प्रयोग गर्थें तर, पछिल्लो एक वर्षदेखि प्रांगारिक मल प्रयोग गर्ने गरेको छु।’
अहिले उनले आफ्नै बारीमा उत्पादित गड्यौला मल प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गरिरहेका छन्। हाल सात कट्ठामा तरकारीखेती गरिरहेका उनी हिउँदको समयमा यसलाई विस्तार गरेर १७ कट्ठाभन्दा बढी पुर्याउँछन्। तरकारीखेतीबाटै उहाँले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
बजारमा पाइने विषादीयुक्त तरकारीलाई न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरका किसान जुगराम चौधरीले पनि यसरी प्रांगारिक मल नै प्रयोग गर्दै आएका छन्। नतासाह कृषि फर्ममार्फत काउली, आलु, गोलभेँडा, बोरी, लौकाको व्यवसाय गर्दै आएका उनले हाल प्रांगारिक मल प्रयोग गर्ने गरेको बताए।
प्रांगारिक मल प्रयोग गर्दा कहिलेकाहीँ किराले सताउने गरेको उनी बताउँछन्। एक बिघाभन्दा बढी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका उनले हाल गड्यौला मलको प्रयोग गर्दै आएका छन्। तरकारीखेतीबाटै उनले वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्छन्।
तुलसीपुर- १६ कै चेतबहादुर डाँगी पनि अहिले अर्गानिक कृषकका रुपमा चिनिन थालेका छन्। स्थानीय ‘रग्गे मिलिजुली समूह’ मा आबद्ध भएपछि उनी पनि यसरी तरकारीखेतीमा आकर्षित भएका हुन्। तीन वर्षदेखि चेतबहादुर पूर्ण रूपमा अर्गानिक तरकारीखेतीमा तल्लीन छन्। हाल उनको बारीमा काँक्रा, बोडी र गोलभेँडाजस्ता तरकारी लटरम्म फलेका देखिन्छन्।
यी केही उदाहरणहरू तरकारीखेती गरेरै राम्रो आम्दानी गर्ने किसानहरूका हुन्। स्वदेशमै पनि तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश यी किसानहरूका उदाहरणबाट पनि हेर्न सकिन्छ।
तुलसीपुर उपमहानगरपालिकाले कृषि खेतीमा लागेकाहरूलाई प्रोत्साहन गर्ने नीति ल्याएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज दहितले बताए। किसानहरूको कृषि बीमा गर्न प्रोत्साहनस्वरुप चालु आर्थिक वर्ष २०८३/८४ मा उपमहानगरपालिकाले नै बिमाबापतको रकम उपलब्ध गराउने गरी बजेट बिनियोजन गरेको बताए। ‘संघीय सरकारले बिमामा ८० प्रतिशत तिरिदिने गरेको छ’, उनले भने, ‘बाँकी किसानले तिर्ने हो, तर चालु वर्षदेखि उपमहानगरपालिकाले तिरिदिनेछ।’