सुचना, समाचार र मनोरन्जन

भव्यतापूर्वक मनाइयो गीतकार सङ्घको वार्षिकोत्सव,निर शाह सहित ६ जनालाई सम्मान र पुरस्कार

काठमाडौँ :

गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवको सुअवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्य रहेको थियो भने गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सभापतित्व गरेका थिए।

समारोहमा सङ्घले विगत पाँच दशकदेखि नेपाली कला क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तित्व तथा प्रतिष्ठित गीतकार निर शाहलाई नगद रु १ लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ बाट सम्मानित गर्‍यो। शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकूँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खि बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’, ‘पसिनाको जलैले’ लगायतका गीतहरू प्रसिद्ध छन्।

त्यस्तै, विदेशमा बसेर पनि नेपाली गीतिलेखनमा सक्रिय रहँदै आएकी गीतकार नीलम आङ्बुहाङ राईलाई नगद रु १५ हजारसहित ‘डायस्पोरा गीतकार सम्मान’ अर्पण गरियो। राईद्वारा रचित ‘पुरानो हुँदैन माया’, ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीतहरू चर्चित छन्।

समारोहमा लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद रु २५,२५२ सहित ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ अर्पण गरियो।

यसैगरी, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतिलेखनमा नयाँ सम्भावनासहित निरन्तर साधना गर्दै आएका गीतकारद्वय सुशिला पौडेल र अरुण तिवारी जनही नगद रु १५ हजारसहित सम्मानित भए।

सङ्घले यसै वर्षदेखि सुरु गरेको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट हिमालय टाइम्सका उपसम्पादक एवं वरिष्ठ पत्रकार कृष्ण भुसाल नगद रु ५,५५५ सहित सम्मानित भए। सम्मानित व्यक्तित्वहरूको तर्फबाट गीतकार निर शाहले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलीको आश उज्यालो प्रकाश’ लाई संयुक्त रूपमा नगद रु ५७ हजारसहित प्रदान गरियो। ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ बाट गीतकार डम्बर याक्सो (गीत: ‘म तिम्रो नजरमा’) र प्रबल विष्ट (गीत: ‘भुल्न सकिनँ’) नगद रु ५७ हजारसहित पुरस्कृत भए।

समारोहको सांगीतिक सत्रमा १० जना अग्रज गीतकारका इतिहास बोकेका कालजयी गीतहरू चर्चित गायक-गायिकाहरूले मञ्चमा प्रत्यक्ष (लाइभ) प्रस्तुत गरेका थिए। जगदीश समालले निर शाहको ‘गहिराइमा डुब्दै नडुब’, सञ्जय तुम्रोकले डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’, अशोक मुकारुङले दिवंगत स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘धेरै सम्झे धेरै हुन्छ’ र रूपक चौधरी तथा बिनुषा राईले एसपी कोइरालाको ‘धडकनभित्र लुकाइदेऊ न’ प्रस्तुत गरेका थिए।

यस्तै, निशा देसारले अमर बान्तुको ‘आमा’, माण्डवी त्रिपाठीले बसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’, बालगायक प्रेम परियारले डा. कृष्णहरि बरालको ‘मर्ने कसैलाई रहर हुँदैन’, सञ्जय तुम्रोकले योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’, सुमित खड्काले चूडामणि देवकोटाको ‘तिम्रो पनि रगत’ र गणेश पराजुलीले शुभ मुकारुङको ‘तिमीले मलाई छाडि गए’ गीत प्रस्तुत गरेका थिए।

वरिष्ठ संगीतकार अशोककुमार राईको संगीत संयोजनमा १५ जना कुशल वाद्यवादकहरूको टोलीले प्रत्यक्ष संगीत भरेको थियो। वाद्यवादन टोलीमा किबोर्डमा शुवानी मोक्तान; भ्वाइलिनमा मोहनकृष्ण कार्की ढली, मनोहर सुनाम, किशोर कार्की ढली, रविन कार्की ढली; ढोलकमा कुमार महाराज, भरत बुढाथोकी; बाँसुरीमा गोपाल देव; मादलमा पोषण घर्ती, अनिल थापा; गिटारमा देव राई (बेस), प्रभात लामा (लिड), खगेन्द्र गुरुङ (रिदम) र प्याड ड्रममा अंकित खड्का रहेका थिए।

समारोहमा यस वर्ष सङ्घको आजीवन सदस्यता प्राप्त गीतकारहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै सहयोगी व्यक्ति तथा संस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले स्वागत मन्तव्य राख्दै भदौ १० मा आएको प्राकृतिक विपत्तिका कारण स्थगित कार्यक्रम ढिलो गरी आयोजना गरिएको जानकारी दिए। सो विपत्तिका बेला सङ्घले कार्यक्रमको बजेटबाट रु १ लाख १५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकोसमेत उनले स्मरण गराए।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भूपेन्द्र रायमाझी, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, सांगीतिक सङ्घ नेपालका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायत कला र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। सञ्चारकर्मी एवं सङ्घका आजीवन सदस्य हेम सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो आहा १०४.५ मेगाहर्ज र त्यसको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.