सुचना, समाचार र मनोरन्जन

जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी

 

काठमाडौं : तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय आन्तरिक पर्यटनको गतिविधि बढ्दै गएपछि बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसम्म विस्तार गर्ने योजना अघि सारिएको हो ।

 

 

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा अहिले जीप सफारी सञ्चालन भइरहेको छ । गाउँ, पहाड, धार्मिक स्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउँदै पर्यटकलाई नयाँ अनुभव दिलाउने उद्देश्यले सफारी सञ्चालन गरिएको उनले बताए ।

 

अब जीप सफारीलाई विस्तार गर्दै दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललगायतका गन्तव्यलाई समेत समेटेर धार्मिक तथा पर्यटकीय सर्किट निर्माण गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

 

‘बन्दीपुर र आँबुखैरेनीमा जीप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,’ उनले भने ।

 

तनहुँमा धार्मिक, प्राकृतिक, ग्रामीण तथा साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भए पनि एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पर्यटकलाई लैजाने गरी एकीकृत प्याकेज विकास हुन नसकेको पौडेलको भनाइ छ । एउटै यात्रामा फरक–फरक प्रकृतिका गन्तव्यको भ्रमण गर्न सकिने व्यवस्था मिलाउन सके पर्यटकको बसाइ अवधि बढाउन सकिने उनले बताए ।

 

मानुङकोट सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला अवलोकनका लागि पछिल्लो समय चर्चित गन्तव्य बनेको छ । दमौलीबाट नजिकै रहेको मानुङकोटबाट देखिने हिमाली तथा पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्दै आएको छ । त्यसैगरी छाब्दी धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थल हो ।

 

छिम्केश्वरी तनहुँको उच्च पहाडी क्षेत्रमा रहेको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ग्रामीण परिवेशका कारण यहाँ पनि पर्यटकको आकर्षण बढाउन सकिने व्यवसायीको विश्वास छ । आँधीमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ ।

 

यी गन्तव्यलाई सडक मार्गमार्फत जोडेर जीप सफारी सञ्चालन गर्न सके पर्यटकलाई एउटै प्याकेजमा विभिन्न प्रकृतिका गन्तव्यको अनुभव गराउन सकिने पौडेलले बताए । उनका अनुसार यसबाट पर्यटकले छोटो समयमै जिल्लाका धेरै ठाउँ घुम्न पाउनेछन् भने व्यवसायीले पनि व्यवस्थित पर्यटकीय प्याकेज बिक्री गर्न सक्नेछन् ।

 

Chaka Panja

जीप सफारीको अर्को महत्त्वपूर्ण पक्ष ग्रामीण क्षेत्रलाई पर्यटनसँग जोड्नु रहेको व्यवसायी बताउँछन् । मुख्य बजार तथा स्थापित पर्यटकीय केन्द्रबाट गाउँ, पहाडी बस्ती र ग्रामीण सडक हुँदै पर्यटकलाई नयाँ गन्तव्यसम्म पुर्‍याउन सके पर्यटनको लाभ ग्रामीण समुदायसम्म विस्तार गर्न सकिने उनीहरूको भनाइ छ ।

 

पर्यटकको आवागमन बढेमा स्थानीय होटेल, होमस्टे, रेस्टुरेन्ट तथा यातायात व्यवसायसँगै कृषि उपज र स्थानीय उत्पादनको बजारसमेत विस्तार हुने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा उत्पादित तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, स्थानीय परिकार, हस्तकला तथा अन्य उत्पादनलाई पर्यटकसँग जोड्न सके पर्यटनबाट हुने आम्दानी गाउँमै राख्न सकिने व्यवसायीको विश्वास छ ।

 

बन्दीपुर यसअघि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ । बन्दीपुर आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रमा समेत पुर्‍याउन सके त्यहाँ केन्द्रित पर्यटनलाई जिल्लाका अन्य भागमा विस्तार गर्न सकिने सम्भावना छ ।

 

त्यस्तै आँबुखैरेनी पनि प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, नदी तथा ग्रामीण परिवेशका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । बन्दीपुर र आँबुखैरेनीलाई प्रवेश तथा आधार क्षेत्रका रूपमा प्रयोग गर्दै अन्य गन्तव्यसम्म जीप सफारी विस्तार गर्न सके पर्यटकका लागि नयाँ घुमफिरको विकल्प थपिने पौडेलले बताए ।

 

पर्यटन व्यवसायी पौडेलले अहिलेको पर्यटनमा एउटा गन्तव्य देखाएर पर्यटकलाई फर्काउनेभन्दा धेरै गन्तव्यलाई एउटै प्याकेजमा समेटेर बसाइ लम्ब्याउने रणनीति आवश्यक रहेको बताए ।

 

‘एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,’ उनले भने, ‘यसले व्यवसायी मात्र होइन, स्थानीय समुदायलाई पनि प्रत्यक्ष लाभ पुर्‍याउँछ ।’

 

उनका अनुसार पर्यटन सर्किट निर्माणसँगै स्थानीय समुदायलाई पर्यटन व्यवसायमा सहभागी गराउनु पनि उत्तिकै आवश्यक छ । पर्यटक आउने क्षेत्रका स्थानीयले होमस्टे सञ्चालन, स्थानीय खाना तथा परिकार, हस्तकला, कृषि उपज बिक्री र सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने भएकाले उनीहरूलाई पर्यटनको प्रत्यक्ष लाभ पुग्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

 

स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य भएमा पर्यटन पूर्वाधार निर्माण, सडक सुधार, गन्तव्यको प्रचारप्रसार तथा पर्यटकीय प्याकेज निर्माणलाई एकीकृत रूपमा अघि बढाउन सकिने व्यवसायीको भनाइ छ । विशेष गरी पर्यटकीय गन्तव्यसम्म पुग्ने सडकको अवस्था सुधार, संकेतचिह्न राख्ने, विश्राम स्थल निर्माण गर्ने तथा आवश्यक सुरक्षा र आधारभूत सुविधा विस्तार गर्न सके जीप सफारीलाई थप व्यवस्थित बनाउन सकिने उनीहरूको विश्वास छ ।

 

तनहुँका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास, प्रचारप्रसार र सेवा सुविधालाई एकीकृत गर्न सके जिल्लालाई बहु दिवसीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ । यसबाट बन्दीपुर वा आँबुखैरेनीमा मात्र सीमित पर्यटकको बसाइलाई जिल्लाका अन्य ग्रामीण तथा धार्मिक क्षेत्रमा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

 

जीप सफारीलाई व्यवस्थित पर्यटन सर्किटका रूपमा विकास गर्न सके तनहुँमा नयाँ पर्यटकीय प्याकेज थपिने मात्र नभई स्थानीय रोजगारी र आयआर्जनका अवसरसमेत बढ्ने व्यवसायीको विश्वास छ । यसका लागि सम्भावित गन्तव्यको पहिचान, सडक तथा अन्य पूर्वाधारको सुधार र निजी क्षेत्र तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.