भक्तपुर : हिजोआज तपाईं भक्तपुर घुम्न आउनु भयो भने एउटा फरक दृश्य देख्न सक्नु हुन्छ, त्यो हो–जताततै गमला र बोटबिरुवा। भक्तपुर नगरका मुख्य–मुख्य सडकदेखि गल्लीगल्लीका सडकसम्म छेउछाउमा गमलामा फूलका बोट रोपेर राखिएको दृश्य सजिलै देख्न सकिन्छ।
हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री पहिचान थपिँदै गएको छ। भक्तपुर नगरपालिका–७ गोल्मढीका प्रकाश मल्लले भने, “पाइलैपिच्छे सार्वजनिकस्थलमा गमलाहरू लाइनै राखिएका छन्। सायद, एक दिन मानिसहरूले भक्तपुरलाई ‘गमलै गमलाको सहर’ भनेर चिन्नेछन्।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरूले गर्न नसकिने ठूलाठूला आश्वासन दिएर जनतालाई नझुक्याउने बताए। “हामी जे सकिन्छ, त्यही मात्रै बोल्छौं,” उनले भने, “यो हाम्रो काम सानो हो तर हामीलाई विश्वास छ, यो ठूलो महत्वको छ। यसले भविष्यमा भक्तपुर हरियो नगर बन्नेछ।”
यसले भक्तपुर सबैतिर सुन्दर देखिने उनको विश्वास छ। कंक्रिटको जङ्गलका रूपमा रहेको सहरलाई सुन्दर बनाउन यो सानो कामले ठूलो टेवा पुग्ने उनले बताए। यसले एकातिर सहरमै हरियाली देखिने र अर्कोतिर स्वच्छ हावा पाउन सहयोग पुग्ने उनको भनाइ छ।
अमेरिकी नागरिक ई. ए. पावेलले सन् १९२० तिर नेपाल भ्रमणका क्रममा भनेका थिए, “नेपालमा भक्तपुर दरबार क्षेत्रबाहेक अरू केही बाँकी रहेन भने पनि त्यसलाई हेर्नका लागि मात्रै पनि पृथ्वीको आधा चक्कर कट्नु सरह हुन्छ।”
यस नगरलाई जर्मन वास्तुकलाविद् नील गोत्सोले संसारकै ठूलो जीवित सङ्ग्रहालय भनेका छन्। त्यस्तै संस्कृतिविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिएका छन्। यी संज्ञामा अब ‘हरियो भक्तपुर’ थप्ने आकांक्षासहित यो सानो काम गरिएको नगर प्रमुख प्रजापतिले बताए।
भक्तपुर नगरपालिका वातावरण समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरमा हरियाली कायम गर्ने उद्देश्यले सबैतिर गमला राखेर फूलका बोटहरू रोप्ने गरिएको बताए। नगरपालिकाका वडा नं. १ देखि १० सम्मकै सम्पूर्ण वडामा यो काम भएको उनले बताए।
कुन वडामा कति ?
ज्याख्वका अनुसार हालसम्म नगरभरि दुई हजार ६२० वटा गमला राखेर फूलका बोटहरू रोप्ने काम भइसकेको छ। वडा नं. १ मा ४६५ वटा, वडा नं. २ मा ४५०, वडा नं. ३ मा ४६५, वडा नं. ४ मा आठ, वडा नं. ५ मा २६५, वडा नं. ६ मा १६०, वडा नं. ७ मा २५०, वडा नं. ८ मा १२, वडा नं. ९ मा ३०० र वडा नं. १० मा २२५ वटा गमला राखेर फूलका बोटहरू रोपिसकिएको उनले बताए।
वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले आफ्नो वडामा मात्रै ५००–६०० गमला राख्ने योजना रहेको र यसका लागि गमला बनाउन दिइरहेको बताए। भक्तपुरमा ठाउँ–ठाउँमा राखिएका गमलाहरू रामचन्द्र अवाल र न्हुच्छेकुमार अवालले बनाउँदै आएको उनले जानकारी दिए।
कहाँ–कहाँ राखिएको छ ?
विशेषगरी सम्पदा तथा पर्यटकीय क्षेत्र, सडक किनार तथा डिभाइडर, सार्वजनिक भवन तथा कार्यालय परिसर, सांस्कृतिक प्रदक्षिणा मार्गलगायतका क्षेत्रमा गमला राखेर हरियाली बनाइएको छ।
सम्पदा तथा पर्यटकीय क्षेत्रअन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार आसपासका क्षेत्र, दत्तात्रय क्षेत्र र टौमढी जाने प्रमुख पर्यटकीय मार्गमा गमलाहरू राखिएका छन्। वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाभित्र पर्ने मुख्य सडकका किनार, चोक तथा पैदलयात्री हिँड्ने फुटपाथका छेउमा गमला राखेर हरियाली गर्ने योजना सुरु गरिएको बताए।
त्यस्तै, सार्वजनिक भवन तथा कार्यालय परिसरअन्तर्गत भक्तपुर नगरपालिका कार्यालय परिसर, वडा कार्यालयहरू तथा नगरपालिकाद्वारा सञ्चालित विद्यालय र ख्वप अस्पताल वरपर गमला राखिएको छ।

सांस्कृतिक प्रदक्षिणा मार्गअन्तर्गत विशेष चाडपर्व (जस्तै गुन्हीपुन्ही–सापारु) मनाइने परम्परागत सांस्कृतिक सडक मार्गलाई सजाउन अस्थायी वा स्थायी रूपमा गमला राख्दै आएको वडाध्यक्ष कवांले बताए।
स्याहार चाहिँ कसले गर्छ ?
नगरपालिका र वडा कार्यालयको सक्रियतामा राखिएका गमला र फूलको स्याहार, संरक्षण तथा हेरचाह भने स्थानीयले गर्ने उनले बताए। बिरुवा रोप्ने काम नगरपालिका वा वडाले गर्ने तर त्यसलाई स्याहार्ने काम वडावासीले आफै गर्ने उनले सुनाए।
“नगरवासी आफैले आफ्नो घरअगाडिका रुखबिरुवा हुर्काउने, बिरुवाको हेरविचार गर्ने, पानी दिनेलगायतका काम स्थानीयस्तरमा घरनजिक रहेका स्थानीयबाटै हुँदै आएको छ,” अध्यक्ष उकेश कवांले भने, “यसले अपनत्व पनि बढ्छ र बोटबिरुवा पनि बाँच्छ।”
नगरपालिकाले नगरलाई हरित, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत यो कार्य भइरहेको उनले बताए। नगरपालिकाले वडा नं. १ देखि १० सम्ममै यो अभियान सुरु गरेको भन्दै यही काम आफ्नो वडामा पनि सम्पन्न भइसकेको उनले जानकारी दिए।
फूल रोपेका गमला माटोका नभई सिमेन्टबाट तयार पारिएका छन्। चोरी हुने सम्भावना भएकाले सार्वजनिकस्थलमा सिमेन्टका चारपाटे आकारका गमला राखिएको वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए।
‘हामी स्याहार्छौ हाम्रा बोटबिरुवा’
भक्तपुर नगरपालिका–७ की स्थानीय सुलोचना किसीले भक्तपुरमा हरियाली तथा वातावरण संरक्षण प्रवर्द्धनका लागि गरिएको यो कदम उदाहरणीय रहेको बताइन्। यही कारण आफ्नो वडामा भएको कार्यक्रममा आफूले पनि भाग लिएको उनले बताइन्।
वडामा याताटोलदेखि गोल्मढीको गणेश मन्दिरसम्म गमलामा बिरुवा रोप्ने काम भएको उनले बताइन्। अर्की नगरवासी मोहनकेशरी ग्वाछाले आफ्नो घरको पेटीमा आफैले फूल रोप्नुपर्ने ठाउँमा वडा र नगरपालिकाले गमला राखिदिएकोमा खुसी व्यक्त गरिन्। हरेक घरको पेटीमा फूल रोपेको देख्दा आफूलाई निकै खुसी लागेको उनले बताइन्।
“अब यी फूलहरू फुल्ने बेला टोल बगैंचा जस्तै हुने भयो,” उनले भनिन्। अर्का स्थानीय युवा प्रकाश मल्लले पाइलैपिच्छे सार्वजनिकस्थलमा गमलाहरू लाइनै रहेकाले एक दिन भक्तपुरलाई ‘गमलै गमलाको सहर’ भनेर चिन्ने भन्दै खुसी व्यक्त गरे।
फेरिएला भक्तपुरको परिचय ?
भक्तपुरको हरेक चोक र गल्ली कलाका उत्कृष्ट नमुना हुन्। विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेका प्रसिद्ध ५५ झ्याले दरबार, कलात्मक सुनौलो ढोका (लुँधोखा) र नेपालकै सबैभन्दा अग्लो न्यातपोल (ङातापोलो) देवल यहाँको इन्जिनियरिङ र काष्ठकलाका जीवित इतिहास हुन्। ढुङ्गा र काठका प्रत्येक टुक्रामा कुँदिएका देवीदेवताका मूर्तिले मल्लकालीन भव्यताको कथा भनिरहेका छन्।
भक्तपुर केवल पुराना भवनहरूको सहर होइन, यो एउटा ‘जीवित सम्पदा’ हो। यहाँ वर्षैभरि विभिन्न जात्रा र चाडपर्व मनाइन्छन्। नयाँ वर्षको आगमनसँगै सुरु हुने भव्य बिस्का जात्रा, सापारु (गाईजात्रा) र गल्ली–गल्लीमा गुञ्जने परम्परागत दाफा भजन तथा नवदुर्गा नाचले यो सहरलाई सधैँ उत्सवमय बनाइराख्छन्।
स्थानीय निर्वाचनपछि २०७४–७९ सालसम्म पाँचतले मन्दिर, भैरवनाथ मन्दिर जस्ता महत्वपूर्ण सम्पदाको जीर्णोद्धारका साथै पाटी, ढुङ्गेधारा, सत्तल, इनार र पोखरी गरी १२४ वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भए। २०७९ सालमा दोस्रो पटकको स्थानीय निर्वाचनपछि पनि जनप्रतिनिधिले उक्त कार्यलाई निरन्तरता दिइरहे। भाज्या पोखरी, रानी पोखरी, लक्ष्मीनरसिंह मन्दिर जस्ता महत्वपूर्ण सम्पदाको काम पछिल्लो कार्यकालमा सम्पन्न भएका हुन्।
दुई कार्यकालमा गरी अहिलेसम्म मूर्त सम्पदाअन्तर्गत मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल, पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेका छन् भने डेढ दर्जन जति सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको छ। छिट्टै नै ती पनि सम्पन्न हुने क्रममा छन्।
भक्तपुरको परिचय अहिलेसम्म कला र संस्कृतिको जीवन्त नगरका रूपमा रहेको छ। जुजु धौ (दही), भादगाउँले टोपी यहाँको चिनारी हो। यी र यस्तै चिनारीमा अर्को पहिचान थप्ने पछिल्लो प्रयास हो–‘हरियो नगर’।