सुचना, समाचार र मनोरन्जन

नोबेल शान्तिमा ट्रम्पको छाया

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन्। ट्रम्पले लामो समयदेखि पुरस्कार प्राप्त गर्न अभियान चलाउँदै आएको र पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएकाले समितिको निर्णयलाई उनको नीतिको समर्थन वा आलोचनाका रूपमा हेरिन सक्ने उनीहरूको भनाइ छ।

 

ओस्लोस्थित शान्ति अनुसन्धान संस्था (पिआरआईओ) का प्रमुख हाकोन जेर्लोले समितिले पुरस्कार दिँदा त्यसबाट शान्तिमा फाइदा पुग्ने वा उल्टै हानि हुने भन्ने विषय विचार गर्नुपर्ने बताएका छन्। तर नर्वेजियन नोबेल इन्स्टिच्युटका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले पुरस्कारका लागि हुने लबिङ सामान्य विषय भएको र त्यसले समितिको निर्णय प्रभावित नगर्ने स्पष्ट पारेका छन्।

 

Chaka Panja

गत वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको थियो। मचाडोले आफ्नो नोबेल स्वर्ण पदक ट्रम्पलाई दिएको भए पनि उनीबाट अपेक्षित राजनीतिक समर्थन प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ।

 

यस वर्ष बालअधिकार र मानवीय सेवामा सक्रिय संस्था वा व्यक्तिलाई पुरस्कार दिन सकिने चर्चा छ। ‘सेभ द चिल्ड्रेन’, युक्रेनी बाल अधिकार कार्यकर्ता माइकोला कुलेबा तथा सुडानमा युद्ध र भोकमरीपीडितलाई सहयोग गर्दै आएको आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) सम्भावित दाबेदारमा छन्। त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतजस्ता संस्थाको नाम पनि चर्चामा छ।

 

यस वर्ष पुरस्कारका लागि २८७ व्यक्ति तथा संस्था मनोनयनमा परेका छन्। सन् २०२५ मा कम्तीमा एउटा राज्य पक्ष संलग्न भएका ६५ सशस्त्र द्वन्द्व दर्ता हुनु विश्वमा शान्तिको अवस्था चुनौतीपूर्ण रहेको सङ्केत हो। हार्पभिकेनले विश्व सही दिशामा अघि बढिरहेको नदेखिए पनि शान्तिका लागि काम गर्ने व्यक्ति र संस्थाको कमी नरहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.