सुचना, समाचार र मनोरन्जन

कांग्रेसको युवा क्लस्टरमा उमेर विवाद, सौगात थापाद्धारा निष्पक्ष छानविनको माग

विवाद निरूपण नभएसम्म शपथग्रहण रोक्न आग्रह, ‘व्यक्ति होइन, विधि र विधान सर्वोपरि हुनुपर्छ’

पोखरा,

नेपाली कांग्रेसका युवा नेता सौगात थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा क्लस्टरमा देखिएको उमेरसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी विधिसम्मत निर्णय गर्न माग गरेका छन्। उनले विवादको टुंगो नलागेसम्म प्रश्न उठेका निर्वाचित उम्मेदवारको शपथग्रहण प्रक्रिया रोक्नसमेत आग्रह गरेका छन्।

महाधिवेशनमा ३५ वर्षमुनिका लागि छुट्याइएको युवा क्लस्टरबाट ३६ वर्ष उमेरका व्यक्ति निर्वाचित भएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि थापाले पार्टीको केन्द्रीय समिति र निर्वाचन समितिसमक्ष आवश्यक प्रमाणसहित निवेदन पेस गरेको बताएका छन्।

थापाले आफ्नो पहल कुनै व्यक्तिविशेषविरुद्ध नभई पार्टीको विधि, विधान र युवा पुस्ताको अधिकार सुनिश्चित गर्न केन्द्रित रहेको स्पष्ट पारेका छन्। ‘मेरो लडाइँ कुनै व्यक्तिविरुद्ध होइन, पार्टीको विधि, विधान र युवा पुस्ताको अधिकारका पक्षमा हो,’ उनको भनाइ छ।

युवालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यले व्यवस्था गरिएको क्लस्टरमा निर्धारित उमेरको मापदण्ड पालना हुनु अनिवार्य रहेको उल्लेख गर्दै उनले त्यसमा त्रुटि भए योग्य युवा नेतृत्वको अवसर र समावेशी प्रतिनिधित्वमाथि नै प्रश्न उठ्ने बताएका छन्।

कांग्रेस लोकतन्त्र, न्याय र विधिको शासनका पक्षमा उभिँदै आएको ऐतिहासिक पार्टी भएकाले आफ्नै आन्तरिक संरचना र निर्वाचन प्रक्रियामा पनि विधानको निष्पक्ष कार्यान्वयन हुनुपर्नेमा थापाले जोड दिएका छन्। उनका अनुसार पार्टीभित्र सामान्य कार्यकर्तादेखि प्रभावशाली नेतासम्म सबैका लागि एउटै नियम लागू हुनुपर्छ।

Pach Pandav

निर्वाचन प्रक्रियाबारे सञ्चारमाध्यममा सार्वजनिक भएका केही व्याख्या पार्टीको विधान र निर्वाचन निर्देशिकासँग मेल नखाने आफ्नो बुझाइ रहेको बताउँदै थापाले विवादित विषयमा निर्वाचन समितिले आधिकारिक निर्णय सार्वजनिक गर्न र आवश्यक देखिए त्रुटि सच्याउन आग्रह गरेका छन्।

‘युवाका लागि छुट्याइएको अवसरमा युवाकै अधिकार सुरक्षित हुनुपर्छ। विधान सबैका लागि समान हुनुपर्छ, चाहे त्यो सामान्य कार्यकर्ता होस् वा प्रभावशाली नेता,’ थापाको अडान छ।

उनले पार्टीभित्र उठेका प्रश्नलाई विद्रोहका रूपमा नभई आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन्। गगनकुमार थापाको नेतृत्वमा रहेको कांग्रेसले विधि र विधानको सम्मान गर्दै विवादको न्यायोचित निरूपण गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

कांग्रेसभित्र युवा प्रतिनिधित्वको प्रश्न केवल नेतृत्वमा नयाँ पुस्ताको सहभागितासँग मात्र जोडिएको छैन। यसले पार्टीको निर्वाचन प्रक्रिया कति पारदर्शी छ, तोकिएका मापदण्ड कत्तिको निष्पक्ष रूपमा लागू हुन्छन् र विवाद उठ्दा सम्बन्धित निकायले कस्तो निर्णय गर्छन् भन्ने विषयलाई पनि महत्त्वपूर्ण बनाएको छ।

अब उमेरसम्बन्धी विवादमा सम्बन्धित निर्वाचन निकाय र पार्टी नेतृत्वबाट आउने आधिकारिक निर्णयलाई चासोका साथ हेरिएको छ। प्रमाण र विधानका आधारमा विवादको निरूपण हुन सके त्यसले पार्टीको आन्तरिक लोकतन्त्रप्रतिको विश्वास कायम राख्न र युवा पुस्ताको प्रतिनिधित्वलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने देखिन्छ।

थापाले उठाएको विषयको मूल सन्देश स्पष्ट छ–पार्टीभित्र व्यक्ति वा पहुँचभन्दा विधि र विधान माथि हुनुपर्छ। युवा नेतृत्वको अधिकार सुनिश्चित गर्न नियमको समान कार्यान्वयन र न्यायोचित निर्णय अपरिहार्य छन्।

Leave A Reply

Your email address will not be published.