पोखरा,
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गतको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । एपिएफले पहिलो सेट २९–२७ जितेपनि दोस्रो सेट २५–१८ ले पुलिसलाई सुम्पिएको थियो । एपिएफले तेस्रो सेट २५–१८ ले जित्यो भने चौथो सेट २५–२२ ले पुलिसले जित्दै खेलमा पुनारागमन गरेको थियो । पाचौं सेट १५–१३ ले जित्दै प्रतियोगितामा एपिएफले लिग तालिकामा २ अंक जाडेको हो । हार ब्यहोरेको पुलिसले १ अंक जोडेको छ ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत पहिलो दिनको उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोसी प्रदेश भलिबल संघ भिड्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै ३ अंक जोडेको छ । उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गर्नेछिन् ।
राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।