सुचना, समाचार र मनोरन्जन

दशैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू

काठमाडौं : ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैँ र परिवारभन्दा जागिर प्यारो भयो सर’, सर्लाहीका अजय मेहताले भने।

दशैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितिले पूरा हुन दिएन। ‘दशैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’, उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दशैँ एक दिनले अट्न सकेन। ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैँको महत्व थाहा नभएर पनि हुनसक्छ’, उनले भने।

दशैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्। महान पर्व दशैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ। ‘अरु दशैँमा घर आउँछन्, हामी दशैँमा छाड्नु परेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दशैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुबा मलेसियामै काम गरिरहेकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैँको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरे पनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्। ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उनले भनिन्।

Leave A Reply

Your email address will not be published.